
काठमाडौं । चलचित्र विकास बोर्ड आफैंले यसअघि विश्वकप फुटबल देखाउन हलहरुलाई अनुमति दिएको पाइएको छ । बोर्डको बक्स अफिस विभागका सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरुलाई बोर्डकै आधिकारिक इमेलबाट फुटबल खेललाई फिल्म सरह प्रदर्शन गर्नको लागि कोडसहितको मेल गरेका थिए ।
उक्त मेलको विवरण अनलाइनखबरलाई प्राप्त भएको छ, जहाँ पाण्डेले विश्वकप देखाउन इच्छुक हललाई वितरण र मुभी कोड प्रयोग गर्न आग्रह गरेका छन् ।
यसको अर्थ बोर्ड आफैंले अग्रसरता लिएर फिल्म हलमा फुटबल देखाउन अनुमति दिएको भन्ने हो । तर ‘फिल्म हलमा विश्वकप हेर्न पाइने’ समाचार अनलाइनखबरमा प्रकाशित भएपछि बोर्डले सूचना जारी गर्दै हलमा फुटबल देखाइए कारवाही गर्ने व्यहोराको सूचना जारी गरेको छ ।
चलचित्र संघले बोर्डको यो कार्यप्रति आपत्ति व्यक्त गरेको छ । संघका महासचिव नरेन्द्र महर्जनले बोर्डको निर्देशन अवज्ञा गर्दै फुटबल देखाउन इच्छुक फिल्म हललाई आग्रह गरे ।
‘बोर्डले आफ्नो नियम बनाउला, हामी आफ्नो नियम बनाउँछौं । इच्छुक हलले फुटबल देखाउँछन् । आउने परिस्थितिको सामना गर्न हामी तयार छौं । भुवन केसीजीको नियत फिल्म हल बन्द गर्ने देखियो,’ महासचिव महर्जनले भने, ‘विदेशी फिल्मसरह कर बुझाएर फुटबल देखाउन सुरुमा भनियो र हामीले तयारी गर्यौं । तर अहिले आएर नगर्नुस् भनियो । बोर्ड नै भुवन केसीको नियन्त्रणबाहिर गएजस्तो लाग्दैछ ।’
एक साताअघि नै सेन्सर गर्नुपर्ने बोर्डको निर्णयको कारण तीन-चारवटा फिल्मको रिलिज रोकिएको समेत महर्जनले बताए । पछिल्लो समय बोर्ड र संघबीच सेन्सर र रात्रि शोको व्यवस्थापनलाई लिएर तनाव जारी रहँदा फुटबलले थप तनाव थपेको छ ।
प्रतिक्रिया 4