+
+

भुवनले जिते सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १७:२५

२२ मंसिर, काठमाडौं । दिनेश प्रजापतिलाई ९ स्ट्रोकको अन्तरमा हराउँदै पुर्वनम्बर एक गल्फर भुवन नगरकोटी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् ।

भुवनले शुक्रबार ४-अन्डर ६४ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजासहित करियरको दशौँ उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित भुवनले १ लाख १६ हजार प्राप्त गरे ।

६-अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५-अन्डर २ सय ६७ सहित दोस्रो भए । उनले ७८ हजार प्राप्त गरे । इभन-पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १-अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए ।

पहिलो दुई दिनका लिडर रवि खड्काले ४-ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३-ओभर २ सय ७५ मा चौथो स्थानमा रहे । तेस्रो र चौथो भएका शुक्र र रबिले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे ।

समग्रमा ५-ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौ, ६-ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैटौं र ७-ओभर २ सय ७९ को स्कोरमा सुर्य प्रसाद शर्मा सातौं भए । अन्तिम दिन रमेशले १-ओभर ६९, कृष्णमानले ५-ओभर ७३ र सुर्यले ३-ओभर ७१ स्कोर बनाए ।

अन्तिम १८ होलको सुरुवात गर्दा भुवनसँग ९ स्ट्रोकको अग्रता थियो। बिना दबाब सहजै अन्तिम दिनको खेल ४-अन्डर ६४ मा सकाउने क्रममा फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे ।

दोश्रो होलमा बोगी प्रहार गरेपनि तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए । यसपछि ११औं, १३औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे ।

सहजै भुवनले उपाधि जित्दा दोस्रो स्थानको लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चल्यो । अन्तिम दिनको खेल सुरू गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए । तर शुक्रलाई चार स्ट्रोकले माथ दिदै दिनेश दोस्रो भए ।

दिनेशले ६-अन्डरको सानदार नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा नवौ होलमा एक सट गुमाए । यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ४-अन्डर ३० मा पुरा गरे ।

प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) खेलिरहेको शुक्रले अपेक्षा अनुरुप खेल्न सकेनन् । अन्तिम दिन इभन-पार ६८ मा सकाए । उनले आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए ।

यसपछि ११औं, १३औं र १६औं होलमा एक-एक सट बचाए । तर १५औं र १७औं होलमा बोगी र १८औं होलको डबल बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे ।

प्रतियोगिताको एमेच्योरतर्फको उपाधि अजित बिकेले जिते । उनले ६-ओभर ७४ सहित समग्रमा १७-ओभर २८९ स्कोर जोडे। समग्रमा ३ सय ११ स्कोरसहित सुरेश तामाङ दोस्रो भए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?