
२५ मंसिर, बुटवल । धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन माग गर्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा तालाबन्दी गरेका छन् ।
महासंघले संयुक्त रुपमा घोषणा गरेका संघर्षका कार्यक्रम अन्तर्गत आइतबार भैरहवामा तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव महेन्द्र गिरीले बताए ।
नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष वेगबहादुर कुँवरले निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिएमा दोस्रो चरणका संघर्षका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।
उनीहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाका प्रमुखलाई संयुक्त रुपमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव गिरीले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अगाडि बढाउन र हिउँदे बालीका लागि मलखादको तत्काल व्यवस्थापन गर्न माग गरे ।
धानबाली भित्र्याउने समय सुरु हुनासाथ धान खरिद प्रक्रिया अगाडि बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यापारीकहाँ पुग्न लाग्दासम्म धान खरिद नगर्ने सरकारको निकाय मुकदर्शक बनेर बस्नु बिडम्बना भएको गिरीले बताए । सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेकोले किसानहरु व्यापारीहरुलाई सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको उनको भनाइ छ ।
त्यस्तै खेती लगाउने समयमा मलबिउको अभाव, कृषि उत्पादन लागतमा भएको मूल्यवृद्धि, कृषि श्रमिको अभाव जस्ता समस्याका बाबजुख उत्पादित उपजहरुमा बजारको मनोमानी कहिलेसम्म भन्दै उनले प्रश्न गरे ।
गत १६ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ निर्धारण गरेको थियो । गत वर्षको भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँ वृद्धि गरेको भएपनि लागत मूल्य र मुद्रास्फितिका आधारमा सरकारले निर्धारण गरेको मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको महासंघहरुको जनाएका छन् ।
प्रतिक्रिया 4