+
+

समर्थन मूल्यमा धान किन्न किसानको दबाव

सुरेश बिडारी सुरेश बिडारी
२०७९ मंसिर २५ गते १९:२०

२५ मंसिर, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका– ३ का सैदुल्लाह खान धानको उचित मुल्य नपाउँदा चिन्तित छन् । अहिले गाउँघरमा धान २ हजार २००, २ हजार ५०० रुपैयाँसम्ममा बिक्रि भइरहेको छ । यो सरकारले तोकेको समर्थन मूल्य भन्दा निकै कम हो ।

कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ तोकेको थियो ।

पछिल्लो समयमा सरकारले समयमै रासायनिक मल र उन्नत जातका धानको बिऊ उपलब्ध नगराउँदा कम थान फलेपछि मारमा परेका किसान व्यापारीलाई सस्तोमा बेच्नु पर्दा झनै मारमा परेका सैदुल्लाहको भनाइ छ । ‘गाउँघरको भाउमा धान बिक्री गर्दा मल, बिउ, खनजोत, गोडमेलमा भएको लगानी पनि उठ्दैन,’ उनले भने, ‘लगानी र मेहनतको खर्च जोडर दुई÷चार रुपैयाँ बच्ने हिसाबले मूल्य तोकेर सरकारले धान खरिद गरिदिन्थ्यो भने फाइदा हुन्थ्यो ।’

उनी सरकारले तोकेको समर्थन मुल्यमा व्यापारीले एक किलो पनि धान खरिद नगरेको बताउँछन् ।

जगरनाथपुरकै महमुद अन्सारी पनि व्यपारीले एकदमै सस्तोमा धान किनिरहेको गुनासो गर्छन् । सेलर (मिल) ले प्रतिक्विन्टल २४ सयमा धान किनिरहेको उनी बताउँछन् । ‘सुन्दैछु सरकारले धानको मूल्य प्रतिक्विन्टल २४०० भन्दा बढी तोकेको छ । त्यही मूल्यमा धान बिक्री होस भन्ने हाम्रो चाहना छ’, उनले भने, ‘बिउ मिल्दैन, मल मिल्दैन, मिलिहाल्यो भने पनि महँगो छ । किसान मर्कामा छौं ।’

किसान दिन दिनै मरिरहेको बताउँदै उनले किसानको पीडा बुझिदिने कोहि नभएको बताए । ‘उचित मुल्यमा धान, गहुँ बिक्री होस, मलखाद समयमा चाहिएको जति मिलोस, राम्रोसँग खेती गर्न पाईयोस, किसानले यो भन्दा बढी के नै चाहेका छन र ?’

किसान आन्दोलित

पर्साका किसानले धानको समर्थन मूल्य कार्यान्वयन गर्न माग गर्दै आइतबार प्रदर्शन समेत गरेका छन् । नेपाल किसान संघको आह्वानमा धानको समर्थन मूल्य कार्यान्वयन नभएको भन्दै किसानले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

वीरगञ्जको घण्टाघरबाट र्‍याली निकालेका उनीहरु पावरहाउसस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यलयमा पुगेका थिए । धान खरिद प्रक्रिया अबिलम्ब सुरु गर्न माग गर्दै उनीहरुले कम्पनीको कार्यालय परिसरमा आधा घण्टा धर्ना समेत दिए । कम्पनीको कार्यालय परिसरमा उनीहरुले दिउँसो साढे १ बजेदेखि २ बजेसम्म शान्तिपूर्ण धर्ना दिएका थिए ।

सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले धान खरिद नगर्दा आफूहरु मर्कामा परेको किसानको भनाइ छ । कम्पनीले समर्थन मूल्यमा धान खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान बिक्री गर्न बाध्य भइरहेका अगुवा किसानको गुनासो छ ।

नेपाल किसान महासंघ पर्साका अध्यक्ष असर्र्फी साहले एक महिना पहिले सरकारले समर्थन मूल्य तोकिसकेको भए पनि कम्पनीले धान खरिदको प्रक्रिया सुरु नगर्दा किसान मर्कामा परेको दबाव दिन प्रदर्शन गरिएको बताए । ‘जहाँ जहाँ खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अफिस छ । त्यहाँ जुलुस निकाल्नुको साथै आधाघण्टा धर्ना बसेर सांकेतिक रुपमा विरोध गरिएको छ’, उनले भने, ‘सरकारले एक महिना पहिले नै धानको समर्थन मुल्य तोकिदिएको छ । तर कम्पनीले धान किनिरहेको छैन ।’

कम्पनीले समर्थन मूल्यमा छिटो भन्दा छिटो धान किनिदिनु पर्ने उनको माग छ । उनले भने, ‘किसानलाई पनि मलखाद किन्नुपर्छ । त्यहि आम्दानीले घर व्यवहार चलाउनुपर्छ ।’

सांकेतिक विरोध जनाउँदा सुनुवाइ नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी किसानले दिए । ‘अहिलेको विरोधलाई समान्य रुपमा लिएर धान खरिद प्रक्रिया शुरु गरेनन भने फेरि अझ कडा आन्दोलन गर्छौ, धर्ना दिने, अनसन बस्ने, तालाबन्दी गर्ने जस्ता कार्यक्रम ल्याउँछौं’ साहले भने ।

किसानको दुःख बुझेनन्

नेपाल किसान हकहित संघर्ष समितिका अध्यक्ष सहरुम राउत गद्दी तीनै तहको सरकारले किसानको दुःख नबुझेको गुनासो गर्छन । ‘किसान प्रधान देश भनिन्छ, तर किसानको पीर मर्का कस्तो छ, दुःख कठिनाईलाई कसैले देख्दैन’ उनले भने, ‘छोरोको फिस तिर्नु थियो, बाध्य भएर ४० क्विन्टल धान २ हजार ५२५ रुपैयाँ प्रतिक्विन्टलमा बेच्नु पर्‍यो ।’
सरकारले तोकेको मूल्यमा धान खरिद गरिदिएको भए आफूलाई नोक्सानी नहुने उनको भनाइ छ । ‘धान बेचेर आएको पैसाले अर्को खेती गर्न पुग्दैन’ उनी भन्छन्, ‘सरकारमा बसेकाले किन देख्दैन, किन सुन्दैन, किन बुझ्दैन थाहा छैन ।’

उनी एक साताअघि नै काठमाडौं गएर उद्योग, कृषि र अर्थ मन्त्रालयका सचिवको ध्यानाकर्षण गराउँदा समेत किसानको समस्या सम्बोधन नगरिएको बताउँछन् । ‘किसानको खेतमा फलेको धानको सही मूल्य मिलिरहेको छैन, समयमै समर्थन मूल्य तोक्ने र धान खरिद गरिदिने दायित्व सरकारको हो नी’ सहरुमले भने, ‘पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराएका छौं, तर किसानको समस्यालाई गम्भीर रुपमा लिँदैनन् ।’

मंसिर १६ गते किसान हकहित संर्घष समिति पर्साले सरकारले समर्थन मूल्यमा धान खरिद नगर्दा किसान मर्कामा परेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत कृषि मन्त्रालयमा ज्ञापनपत्र समेत पठाएको थियो ।

पर्साका किसान प्रितप्रसाद यादव किसानको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्नेमा त्यसो नगर्ने गरेको बताउँछन् । ‘गहुँको सिजन आइसक्यो, मलखाद किन्नुपर्छ । छोराछोरीको विवाह गर्नुपर्ने हुन्छ । खेतमा उब्जेको धान बिक्रि नहुँदा समस्या छ, बिक्रि भईहाले पनि उचित मूल्य मिलेको छैन’, उनले भने, ‘जीवनयापनका लागि नै किसानले धान उत्पादन गर्छ । तर धान गहुँ खेति गर्न निकै समस्या हुन्छ ।’

किसानको धान धमाधम २ हजार २०० रुपैयाँ प्रति क्विन्टलमा विचौलियाले किनेर राखेको दाबी उनको छ । ‘किसानले बिक्री गर्ने बेलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान लिईरहेको छैन । २ हजार २०० रुपैयाँप्रति क्विन्टलमा विचौलियाले किनेर राखेका छन् । पछि कम्पनीले यहि धान महंगोमा लिन्छ ।’

किसानको धान उचित मूल्यमा बिक्री नहुँदा सरका सुतेर बसेको आरोप उनको छ । उनी भन्छन् ‘किसानको माग ठूलो छैन । सरकारले समयमा बिउ र मलखाद दिनुप¥यो । समयमा धान खरिद गरिदिनुपर्‍यो । यत्ति त हो ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?