
२६ मंसिर, हेटौंडा । ४ मंसिरको चुनावबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि बागमती प्रदेशसभा सचिवालयले पुरानो प्रदेशसभा भवन मर्मत सम्भार र रङरोगन सुरु गरेको छ ।
प्रदेशसभाको नयाँ अधिवेशन नयाँ भवनबाटै सुरु गर्न सम्भव नभएपछि पुरानो भवन नै मर्मत सम्भार गरिएको हो । टेबुल, कुर्सी, माइक राख्ने, पार्केटिङ गर्ने र रङरोगनका कामहरु भइरहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
संसदीय समिति र दलको कार्यालय एक हप्ताभित्रमा निर्माण सकिने उनले बताए । यसको लागत दुई करोड १३ लाख रुपैयाँ छ । त्यस्तै चमेना गृह र सुरक्षाकर्मीको आवासको निर्माण सकिएको उनले जानकारी दिए । यसको लागत ४० लाख ६१ हजार रुपैयाँ छ ।
बागमती प्रदेशसभामा यसपटक सातवटा दलको प्रतिनिधित्व हुने भएको छ । जसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै संसदीय दलको कार्यालय उपलब्ध हुनेछ ।
एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीको संसदीय दलको कार्यालयको निर्माण यो साता सकिने प्रदेश सभा सचिवालयका सचिव खड्काले बताए ।
नयाँ आउने सांसदहरुलाई
स्वागत गर्न, प्रदेशसभा सदस्य र ज्येष्ठ सदस्यको सपथ तथा सभामुख÷उपसभामुख निर्वाचन र सपथलगायत संवैधानिक प्रक्रिया कार्यान्वयनमा लैजान प्रदेश सभा सचिवालयले तयारी थालिसकेको खड्काले जानकारी दिए ।
बागमती प्रदेशसभाको नयाँ भवन हाल निर्माणाधीन छ । ४ मंसिरको चुनावबाट निर्वाचित प्रदेशसभाको बैठक नयाँ भवनमा बस्ने भने पनि आगामी जेठअघि उक्त भवनको निर्माण नसकिने भएको छ ।
‘भवन हामीलाई प्राप्त भएपछि टेबुल, कुर्सी, माइक लगायतको व्यवस्थापनका लागि टेण्डर गर्नुपर्ने हुन्छ र तयार हुँदासम्म अर्को ५÷७ महिना लाग्न सक्छ’ प्रदेशसभाका सचिव खड्काले भने ।
प्रतिक्रिया 4