
२६ मंसिर, काठमाडौं । पाटन औद्योगिक क्षेत्रका उद्योगीहरुले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । सोमबार ललितपुरको पाटन औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको संस्था कल्याण तथा सुरक्षा समितिले पत्रकार सम्मेलन गर्दै औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्रमा बढाएको ८ सय प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै विरोधका कार्यक्रमहरु घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समिति अध्यक्ष शैलेन्द्रलाल प्रधानले सरकारले १० वटा औद्योगिक क्षेत्र भाडा वृद्धि गरी कमाइ खाने भाँडोको रुपमा प्रयोग गर्नका लागि नभएको बताए । उनले अहिले औद्योगिक व्यवस्थापन औद्योगिक क्षेत्रको विकास र विस्तार भन्दा पनि भाडा वृद्धि गरेर उद्योगीहरुलाई समस्या बनाउने काम गरेको भन्दै वृद्धि गरिएको भाडा तत्काल फिर्ता गर्न माग गरे । १० वटा औद्योगिक क्षेत्रमा भएका उद्योगमा ५० हजार श्रमिकले रोजगार पाएको उनको भनाइ थियो । औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्र विकासका लागि काम गर्न छाडेर गैरजिम्मेवारी रुपमा भाडा वृद्धि गरेको प्रधानले आरोप लगाए ।
अध्यक्ष प्रधानले ८ सय प्रतिशत वृद्धि भएको भाडा तत्काल फिर्ता लिएर नेपाल औद्योगिक क्षेत्र महासंघलाई वार्तामा बोलाउन माग गरे ।
प्रतिक्रिया 4