
२६ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्य वस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट्दै यस्तो माग गरेको हो । संघीय सरचना अनुरुप हुने गरी सुन वितरणको कार्यविधि संशोधन गर्न व्यवसायीले माग गरेका हुन् ।
हालसम्म पुरानै संरचना अनुरुप अञ्चलगत रुपमा वनेको कार्यविधि अनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि व्यवहारिक हुन नसकेको भन्दै महासंघले यथाशीघ्र प्रादेशिक रुपमा सुन बाँडफाँटको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले महासंघले राखेको मागलाई आफूले गम्भीर रुपमा लिएको बताए । यस विषयमा सम्बन्धित निकायमा परामर्श गरी आवश्यक निर्णय लिइने उनको भनाइ छ । त्यसक्रममा उनले एउटा बैंकको खातावाट सबै बैंकमार्फत कारोबार हुने सक्ने व्यवस्था मिलाउन र कार्यविधिमा तोकिएका नाकाहरुवाट सहजरुपमा सुन उपलब्ध हुने व्यवस्था मिलाउन व्यवसायीले गरेको आग्रह अनुसार त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने आश्वासन दिए ।
भेटका क्रममा व्यवसायीहरुले सुनको कोटा कम हुँदा देशभर सुनचाँदी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै आपूर्ति प्रणालीमा सुधार गर्न समेत आग्रह गरेका थिए । महासंघका अध्यक्ष शाक्यले व्यवसायीले सुन खरिद गर्दा प्रत्येक बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक र असहज अवस्था रहेको जानकारी गराएका थिए । उनले देशका विभिन्न ९ नाकाहरुबाट सुन उपलब्ध गराउनु पर्ने व्यवस्था कार्यविधिमा रहेको भए पनि बैंकहरुले त्यस अनुसार काम नगरेको बताए ।
प्रतिक्रिया 4