२६ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन(पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ ।
एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन एम्बाप्पे विश्वकपकै दौरान मोरक्कोको टिम बसेको होटलमा समेत पुगेका थिए ।
तर मंगलबार मध्यराति यी दुई साथी एक अर्काको विपरीत खेल्नेछन् । एम्बाप्पेलाई हकिमीले गोल गर्न रोक्नेछन् । हकिमी क्लब र राष्ट्रको लागि डिफेन्डरको रुपमा खेल्छन् ।
यी दुवै टिमका लागि यो खेल उत्तिकै महत्वपूर्ण हुनेछ । दुई खेलाडीको सेमिफाइनलमा एक अर्काको टिमलाई हराउँदै फाइनल पुग्ने लक्ष्य हुनेछ ।
हकिमी विश्वकप फाइनल खेल्ने पहिलो अफ्रिकी टिमको हिस्सा बन्न चाहन्छन् भने एम्बापे डिफेन्डिङ च्याम्पियन भएका कारण इतिहास दोहोर्याउन चाहन्छन् ।
यो सेमिफाइनल जित्ने टिमले फाइनलमा क्रोयसिया वा अर्जेन्टिनासँग फाइनल खेल्नेछ ।
एम्बाप्पेले जनवरीमा हकिमीको बारेमा एउटा ट्वीट गर्दै भनेका थिए, ‘असरफ हकिमी विश्वका उत्कृष्ट अरबी खेलाडी हुन् ।’
एम्बाप्पे यस विश्वकपमा सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् । उनले प्रतियोगितामा पाँच गोल गरेका छन् । अर्का डिफेन्डर हकिमीको टिमले एक गोल मात्र खाएको छ ।
२०२१ मा इन्टर मिलानबाट पीएसजी आएका हकिमी र एम्बाप्पेको दोस्ती त्यसपछि बनेको हो । हकिमी ६० मिलियन युरोमा पीएसजीमा आवद्ध भएका हुन् ।

दुवै खेलाडीको जन्म १९९८ मा भएको हो, जुन वर्ष फ्रान्सले पहिलो पटक विश्वकप जितेको थियो । हकिमी र एम्बाप्पेको गीत र भिडियो गेमको रुचि पनि एकै रहेको छ । एम्बाप्पे हकिमीलाई फ्रेन्च भाषा सिकाउँछन् ।
हकिमी मुस्लिम परिवारका व्याक्ति हुन् । उनले पीएसजी टिमसँग इदको बेलाको भिडियोहरु सार्वजनिक गरेका थिए । हकिमीले एम्बाप्पेलाई इदको बेला अरबी खाना चखाएका पनि थिए ।
हकिमीले एम्बाप्पेको बारेमा भने, ‘उनी जस्ता खेलाडीसँग खेल्न निकै सहज हुन्छ । उनले बलमा केही न केही फरकपन गर्छन् ।’
एम्बाप्पेले समूह चरणको खेलमा डेनमार्कसँगको खेलमा र अन्तिम १६ को खेलमा पोल्याण्डसँग दुई दुई गोल गरेका थिए ।
शनिबार भएको क्वाटरफाइनलमा भने उनले गोल गर्ने मौका पाएनन् । उनलाई इंग्ल्यान्ड्का डिफेन्डर काइलले सक्दो नियन्त्रणमा राखे । उनलाई एक पटक मात्र गोल गर्ने मौका मिलेको थियो त्यो पनि रोकियो । उनको टिमले त्यो खेलमा इंग्ल्यान्ड विरुद्ध २–१ को जित हात पार्यो ।

मोरक्कोको टिमको डिफेन्स हेर्ने हो भने हालसम्मकै उत्कृष्ट डिफेन्स टिम हो । जसले क्रोयशिया, बेल्जियम, स्पेन र पोर्चुगललाई गोल गर्ने मौका दिएन ।
हकिमीको टिमले विश्वकपमा १० पटकमात्र विरोधीलाई गोल पोष्टमा प्रहार गर्ने मौका दिएको छ । एम्बाप्पेले हालसम्म १० पटक गोलपोष्टमा प्रहार गरेका छन् । जसमा ५ गोल भए भने ५ रोकिए ।
प्रतिक्रिया 4