
काठमाडौं । अभिनेता सुशील श्रेष्ठलाई लिएर फिल्म ‘द आउट लयर’ निर्माण हुने भएको छ । यो एक्सन-थ्रिलर फिल्मको छायांकन पुस ६ गतेदेखि सुरु हुने जनाइएको छ ।
विक्की महर्जनले निर्देशन गर्ने फिल्मले कानुन नमान्ने मान्छेको कथा भन्छ । ‘कसैका लागि भिलेन हुने मान्छे, कसैको लागि हिरो पनि हुनसक्छ,’ यो फिल्मको चरित्र चित्रणबारे सुशीलले अनलाइनखबरसँग भने ।
कोरोना महामारीपछि सुशीलको लागि यो कमब्याक प्रोजेक्ट समेत हुनेछ । उनी अभिनित ‘लभ डायरी’ सन् २०२० को फेब्रुअरीमा रिलिज भएको थियो । ‘सुटिङमा जान उत्साहित छु,’ सुशीलले भने ।
तीन महिनादेखि सुशील यो फिल्मका लागि आफूलाई चरित्रअनुसार ढाल्ने कार्यशालामा व्यस्त थिए । ‘जिम गर्नेदेखि चरित्रका अन्य तयारीबारे व्यस्त थिएँ,’ उनले भने ।
उनको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौला हुनेछिन् । विनोद कडायत र सशांक खड्काले निर्माण गर्ने फिल्मलाई काठमाडौं वरपर छायांकन गरिनेछ । कडायत ‘प्रेमगीत ३’का कला निर्देशक समेत हुन् । केही दिनमै थिम टिजर सार्वजनिक गर्ने तयारी छ ।
सन् २०१५ मा ‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्टमा उनले प्रोस्टाइल बेस्ट हेयर सबटाइटल जितेका थिए ।
प्रतिक्रिया 4