+

अर्जेन्टिनी प्रशिक्षक भन्छन् : क्रोएसियाको टिम एकता मुख्य चुनौती

२०७९ मंसिर  २७ गते १४:२१ २०७९ मंसिर २७ गते १४:२१
अर्जेन्टिनी प्रशिक्षक भन्छन् : क्रोएसियाको टिम एकता मुख्य चुनौती

२७ मंसिर, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन् ।

उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले निकै थाकेको बताएका छन् ।

मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको टिम एकता आफूहरुका लागि ठूलो चुनौती हुने बताए ।

‘हामीले एक प्रतिस्पर्धात्मक खेलको आशा गरेका छौं । यो खेल राम्रो टिमको विरुद्धमा छ । उनीहरु एक टिम बनेर खेल्छन् । यो हाम्रो लागि एक चुनौती हो,’ स्कोलोनीले भने, ‘उनीहरुसँग एक विशिष्ट खेल शैली छ । उनीहरुले यसलाई बदल्दैनन् । क्रोएसियाको टिम न रक्षात्मक खेल्छ न त आक्रामक । उनीहरुसँग यस्ता खेलाडी छन्, जो लामो समयसम्म खेलिरहन सक्छन् ।’

अर्जेन्टिना टिमबाट लियोनल मेस्सीसँगै सन् २००६ को विश्वकप खेलेका स्कालोनीले भने, ‘हामीसँग हाम्रो आफ्नो शैली छ । हामी यसलाई बदल्दैनौं । हामीलाई यो राम्रोसँग थाहा छ कि उनीहरुसँग उत्कृष्ट खेलाडीहरु छन् । जसले हामीलाई हराउन सक्ने क्षमता राख्छन् ।’

अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज भने थिएन । पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले त्यसपछिका दुई खेल जितेर समूह विजेता बन्यो । अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ ले हराएपछि क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेको थियो ।

पहिलो खेलमा हार ब्यहोरेपछि चार खेलमा दक्षिण अमेरिकन टिमले ३ गोल मात्र खाएको छ ।

नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम १० मिनेट भित्रमै २ गोल खाएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा पुगेको हो ।

उक्त खेलमा १७ खेलाडीले पहेंलो कार्ड पाएका थिए । पेनाल्टीमा ४–३ को जित हात पार्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको थियो ।

दुई पटक विश्वकप विजेता टिम अर्जेन्टिना सकेसम्म नियमित समयमै खेल सक्ने कोशिसमा रहनेछ । बलियो विपक्षी क्रोएसिया खेललाई लम्बाएर पेनाल्टीमार्फत जित निकाल्न माहिर टिम हो ।

‘हामीलाई (एमिलियानो) मार्टिनेजमाथि पूर्ण विश्वास छ । हामीसँग राम्रो गोलकिपर भए पनि हामी शान्त भने बस्ने छैनौं,’ अर्जेन्टनी टिमका डिफेण्डर निकोलास ट्याग्लियाफिकोले भने, ‘हामी पेनाल्टीमा सुटआउटको अभ्यास गर्न सक्छौं तर हजारौं दर्शकको भावना पनि हामीसँग जोडिएको हुन्छ ।’

यी दुई टोलीले यसअघि पाँच पटक एक अर्कासँग खेलेका छन् जसमा दुवै टोलीले दुई–दुई पटक जित हात पारेका छन् । एउटा खेल भने बराबरीमा सकिएको थियो ।

१९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले पराजित गरेको थियो । २०१८ मा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गर्दै बदला लिएको थियो । तर यी दुवै खेलहरु समूह चरणका खेल थिए । त्यसैले यी दुई टिमको सेमिफाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुनेछ ।

यदि क्रोएसियाले अर्जेन्टिनालाई हराएमा लगातार विश्वकपमा फाइनल पुग्ने उपलब्धी हासिल गर्नेछ । यस्तै उपलब्धी ब्राजिलले सन् २००२ मा पाएको थियो । तर, अर्जेन्टिनासँग मेस्सी यस्ता खेलाडी छन् जसले क्रोएसियाको रक्षापङ्क्ति ध्वस्त पार्ने क्षमता राख्छन् ।

२०१४ मा जर्मनीलाई हराएर फाइनल पुगेको अर्जेन्टिना फेरि पनि फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिनेछ ।

‘मेस्सीले हामीलाई प्रेरणा दिन्छन्, हामी उनलाई प्रेरित गर्छौ । हामी वास्तवमा भाग्यशाली छौं कि हामीसँग मेस्सीजस्ता कप्तान छन्,’ डिफेण्डर निकोलासले थपे ।

अर्जेेन्टिना क्रोएसिया खेलकुद फुटबल लियोनेल स्कालोनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय