+
+

सुदूरपश्चिम प्रदेशसभामा धमाधम फेरिँदैछन् फर्निचर र माइक

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर २७ गते १७:५५

२७ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा स्थायी राजधानी तोके पनि संरचना निर्माण नभएका कारण दोस्रो कार्यकालका लागि निर्वाचित भएका प्रदेशसभा सदस्यहरुले पनि धनगढीमै शपथ ग्रहण गर्ने भएका छन् ।

५ वर्षअघि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहललाई प्रदेशसभाको रुपमा प्रयोग गर्दै आइरहेकाले ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले पनि अब यसै भवनमा शपथ लिनेछन् । प्रदेशसभाका बैठकहरु पनि यहीँ सञ्चालन हुनेछ । प्रदेशसभा सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरुको स्वागतमा पर्खिरहेको प्रदेशसभा भवनलाई चिटिक्क पार्ने काम भइरहेको छ ।

सचिवालयले युएनडीपीको संसद सहयोग परियोजना अन्तर्गत प्रदेशसभा भवनमा विद्युतीय उपकरण र फर्निचर लगायतका सामग्री फेरेर नयाँ राखेको जनाएको छ ।सूचना अधिकारी युवराज जैशीले युएनडीपीको संसद सहयोग परियोजना अन्तरगत करीब २० लाख रुपैयाँ लागतमा विद्युतीय उपकरण माइक, स्पीकर, मिक्सर लगायतका सामान फेरिएको बताए ।

उनका अनुसार फर्निचरतर्फ टेबुल पनि नयाँ राखिएका छन् भने प्रदेशसभाको लोगोको आकार बढाएर ठूलो बनाउने तयारी छ । ‘हामीले नयाँ आउने प्रदेशसभाको बैठक सञ्चालनका लागि आवश्यक पर्ने तयारी करिब पूरा गरिसकेका छौँ । माइक र फर्निचरका सामान फेर्ने काम भइसकेको छ’, जैशीले भने, ‘रोस्टमको सेटअप र लोगो राख्ने लगायतका स-साना काम मात्रै बाँकी छन् ।’

यस्तै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम पनि भइरहेको सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेशसभा सदस्यको सपथ ग्रहण र बैठक सञ्चालनका लागि आवश्यक पर्ने तयारी भइरहेको बताए ।

बोगटीले निर्वाचन आयोगले बुझाउने विवरणका आधारमा प्रदेशसभाको ज्येष्ठ सदस्यको पहिचान गरेर प्रदेश प्रमुखबाट सुरुमा उनलाई शपथ ग्रहण गराइने बताए । ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ खुवाउनेछन् भने सभामुख चयन नहुँदासम्म प्रदेशसभाको बैठक पनि ज्येष्ठ सदस्यले नै सञ्चालन गर्नेछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?