+
+

तारकेश्वर घटना : सविन फुयाललाई न्याय दिन माग गर्दै त्रिचन्द्रका विद्यार्थीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते ११:२४

२८ मंसिर, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ मा टिपरले ठक्कर दिएर घाइते भएका एक युवकलाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् ।

पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज बिहान र्‍याली निकालेर प्रदर्शन गरेका हुन् ।

त्रिचन्द्र क्याम्पसका विद्यार्थी तारकेश्वर नगरपालिका ३, पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा५ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ । ‘टिप्परले ठक्कर दिएपछि कर्तव्य गरेर मारेको भन्ने हाम्रो निष्कर्ष हो, दोषीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्छ,’ मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले भने ।

घिमिरेका अनुसार दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए । उनले टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा देखिएको भन्दै दुर्घटनापछि कर्तव्य गरी हत्या गरेको भन्ने आफूहरुको निष्कर्ष रहेको बताए ।

उक्त घटनापछि टिपर व्यवसायीले सिन्धुलीका शिव विकलाई नक्कली चालक खडा गरी बालाजु प्रहरीमा पठाएको र प्रहरीले केरकार गर्दा ऊ नक्कली चालक प्रमाणित भएको पाइएकोसमेत घिमिरेले बताए । त्यसपछि प्रहरीले महालक्ष्मी एण्ड बलामी सप्लायर्सका सन्चालक र उनका भाइलाई नियन्त्रणमा लिएको थियो । तर टिपर चालक, सहचालक लगायत कोही पनि पक्राउ परेका छैनन् ।

दुर्घटनामा संलग्न टिपर

तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्यालले टिपर चालक फरार रहेको र अझै पक्राउ नपरेको बताए । उनले पीडित परिवारले दोषीलाई कारबाहीको माग गर्दै वडा कार्यालय अगाडि प्रदर्शन गरिरहेको र आफूले घटनाको सत्य तथ्य पत्ता लगाउन सहजीकरण गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?