
सुन्दैमा तर्सिने र पत्यारै नलाग्ने एउटा घटना चीनमा भएको छ । चार वर्षीया बालिकाको पेटबाट चिकित्सकहरुले शल्यक्रिया गरेर ६१ वटा गुच्चा निकालेको खबर आफैंमा अनौठो लाग्छ ।
अझ अनौठो त के भने छोरीले त्यतिधेरै गुच्चा निल्दासम्म उनका बुवाआमाले त्यसको छनकसम्म पाएका थिएनन् । जब बालिकालाई पेट दुखेपछि उनीहरु चेकजाँचका लागि अस्पताल पुगे, एक्सरे गरेर हेर्दा छाँगाबाट खसे झैं भए । किनकि बालिकाको पेटमा ठूलो संख्यामा गुच्चा भएको थाहा भयो ।
डाक्टरहरुले एक महिनादेखि पेट दुखिरहेको समस्या लिएर अस्पतालमा उपचारका लागि लगिएकी ती बालिकाको पेटबाट शल्यक्रिया गरी ६१ वटा गुच्चा बाहिर निकाले । बालिकाको पेटमा मोतीको मालाजस्तै गरी ६१ वटा गुच्चा अडिएका थिए ।
उक्त शल्यक्रिया करिब तीन घण्टा लगाएर गरिएको थियो । शल्यक्रियाका क्रममा उनको आन्द्रामा एक दर्जन बढी प्वाल पार्नु परेको थियो । शल्यक्रियापछि ती बालिका हाल खतरामुक्त रहेको र स्वास्थ्यलाभ गरिरहेको बताइएको छ ।
चीनको झेजियाङ प्रान्तस्थित हाङझोउमा यो घटना भएको हो । झेजियाङ युनिभर्सिटी स्कुल अफ मेडिसिनको बाल अस्पतालमा ती बालिकाको शल्यक्रिया गरिएको थियो ।
ती बालिकाले निलेका चुम्बकीय गुच्चाहरुमा पेटमा गएपछि चुम्बकीय आकर्षणका कारण एक अर्कामा टाँसिएर मोतीको दाना झैं गरी आन्द्रामा लहरै रहेका थिए । साथै गुच्चाका कारण उनको आन्द्रामा प्वाल समेत पर्न थालेको थियो र कुल १४ वटा प्वाल डाक्टरहरुले फेला पारे ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4