+

अर्जेन्टिनाका गोलकिपर भन्छन् : टिम लगातार राम्रो हुँदै गइरहेको छ

२०७९ मंसिर  २९ गते १६:३६ २०७९ मंसिर २९ गते १६:३६
अर्जेन्टिनाका गोलकिपर भन्छन् : टिम लगातार राम्रो हुँदै गइरहेको छ

२९ मंसिर, काठमाडौं । अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले आफ्नो टिम विश्वकपका दौरान धेरै सुधारिएको बताएका छन् । सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दा अर्जेन्टिनाको उत्कृष्ट लय देखिएको थियो ।

अर्जेन्टिनाले साउदी अरेबियासँग प्रत्यासित हारको साथ कतार विश्वकपको सुरुवात गरेको थियो । तर, प्रतिकूल परिस्थितिबाट माथि उठेर अर्जेन्टिना तेस्रोपल्ट विश्वकप जित्ने लक्ष्यको नजिक पुगेको छ ।

‘जबदेखि मैले यो टिमबाट खेल्न सुरु गरेँ, हामी क्रमशः राम्रो हुँदै गइरहेका छौं । हामी कोपा अमेरिका टिममात्र होइनौं, हामी फाइनलिस्ट टिममात्र होइनौं । हामी त्योभन्दा एक कदम अघि छौं,’ गोलरक्षक मार्टिनेजले अर्जेन्टिनी अखबार क्लेरिनसँग भने ।

‘हामीले महान पक्षलाई विश्वास गर्नुपर्छ । त्यसलाई विश्वास गर्नु र मिहिनेत गर्नुले हामीलाई सम्मान र महत्वाकांक्षाका साथ ठूलो पहिचान दिनेछ । हामीसँग पहिलादेखि नै धेरै प्रतिभाहरु छन्’, मार्टिनेजले थपे, ‘म आफ्नो टिममेटका साथ अर्जेन्टिना फर्केर ओवेलिस्कोमा ओलम्पिक ल्याप पूरा गरिरहेको सपना देखिरहेको छु ।’

मार्टिनेजले समूह चरणका पछिल्ला दुई खेलमा सहज जितपछि अन्तिम १६ मा अस्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्धको खेल कठिन अवस्थाबाट गुज्रिएको स्वीकार गरे । ‘क्रोएसियासँगको खेलमा हामीले पहिलो हाफपछि अघिल्ला दुई खेलको नियती नदोहोर्याउने सल्लाह गरेका थियौैं र, हामीले रक्षात्मक रुपमा निकै राम्रो खेल्यौं । हामीसँग चारजना विश्वस्तरीय डिफेण्डर छन्’ उनले भने ।

३० वर्षीय मार्टिनेज जारी विश्वकपमा अर्जेन्टिनाको फाइनल यात्राका नायक हुन् । उनले अन्तिम १६ मा अस्ट्रेलियाविरुद्ध निर्णायक बचाउ गरेका थिए भने डच टिमविरुद्ध दुईवटा पेनाल्टी रोकेका थिए ।

क्रोएसियाविरुद्ध अर्को एक सानदार प्रदर्शनपछि कप्तान लियोनल मेस्सीले मार्टिनेजलाई एक अद्भूत खेलाडीका रुपमा व्याख्या गरेका थिए । ‘म मेस्सीलाई माया गर्छु । उनले कोपा अमेरिकामा जे गरे यो धेरै बढी थियो । तर, यो विश्वकपमा उनी जे गरिरहेका छन् मैले आफ्नो जीवनमा यसअघि कहिल्यै देखेको थिइनँ’ मार्टिनेजले पनि मेस्सीबारे भने ।

मेस्सीले आइतबारको फाइनल नै आफ्नो विश्वकपमा अन्तिम खेल हुने घोषणा गरिसकेका छन् । जहाँ अर्जेन्टिनाले चार वर्षअघिको विश्व च्याम्पियन फ्रान्सको सामना गर्नेछ ।

अर्जेन्टिना एमिलियानो मार्टिनेज फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय