+
+

अध्यादेश जारी नगर्न माग गर्दै परेको रिट सर्वोच्चबाट दरपीठ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १७:१०

२९ मंसिर, काठमाडौं । फौजदारी कार्यविधि संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपति कार्यालयको नाममा आदेश माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

अधिवक्ता कपिलदेव ढकालले हाल राष्ट्रपति कार्यालयमा रहेको अध्यादेश राष्ट्रपतिले जारी गर्न सक्ने भन्दै जारी नगर्न राष्ट्रपति कार्यालयको नाममा प्रतिषेध समेतको आदेश जारी गर्न माग गरेका थिए ।

तर सर्वोच्च अदालत प्रशासनले राष्ट्रपतिबाट प्रमाणीकरण नभएसम्म अध्यादेशले कानुनको रुप धारण नगर्ने भन्दै जारी नभई उक्त अध्यादेशको संवैधानिकता परीक्षण गर्न नसक्ने उल्लेख गरी दरपीठ गरिदिएको हो ।

‘नेपालको संविधानको धारा १३३ (१) तथा १३७ (२) बमोजिम कानुनको नै संवैधानिकता परीक्षण गर्न सक्ने यस अदालतमा अध्यादेश जारी नहुँदै रोकिपाउँ भनी आशंकाका भरमा रिट निवेदन लिइ आएको देखिँदा अपरिपक्व अवस्थामा दर्ता हुन आएको रिट निवेदन दर्ता गर्न मिलेन’ दरपीठ आदेशमा भनिएको छ ।

सरकारले राजनीतिक आन्दोलनमा रहेका र शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग सम्झौता गरेका समूहको मुद्दा जुनसुकै अदालतमा रहे पनि फिर्ता लिन सक्ने गरी अध्यादेशमार्फत मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न लागेको छ ।

हाल राष्ट्रपति कार्यालयमा रहेको अध्यादेश जारी भए टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरी तथा विभिन्न मुद्दा खेपिरहेका विप्लव समूह र जनमत पार्टीका कार्यकर्ता रिहा हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?