
काठमाडौं । बालगायिका कमला घिमिरेको एउटा लाइभ दोहोरी गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गायक सुमन परियारसँग मिलेर उनले गाएको उक्त गीतले एकैसाथ आक्रोश र चर्चा बटुलेको छ ।
नाबालिका बलात्कार आरोपबारेका पछिल्ला दुई स्क्यान्डललाई घुमाउरो ढंगले व्यंग्य गरिएको यो गीतलाई सयौंले युट्युब, टिकटक, फेसबुक लगायतको टाइमलाइनमा टिकाटिप्पणी गरिरहेका छन् ।
सानै उमेरदेखि दोहोरी गायनमा चर्चा बटुलेकी कमला पनि विवाद र आलोचनाले घेरिएकी छन् । खासगरी उक्त गीतको विषयवस्तु र ‘कम्पोजिसन’ आपत्तिजनक रहेको भन्दै तत्काल माफी माग्न सामाजिक सञ्जालमा माग भइरहेको छ ।
सुमन गाउँछन्-
ती गाला देखेसी कस्तो कस्तो भो
मुस्ताङको स्याउजस्तै टोकुँजस्तो भो
कमलाले यसमा जवाफ दिन्छिन्-
न कोहीलाई भेट्न भनी आकी छ
होस गर अठार कट्नै बाँकी छ
उक्त गीतका थप टुक्का यस्ता छन्-
मन मिले अहिले नै नजिक सरम्ला
अठार कटेसी बिहे गरे गरम्ला
जानु है बेलुकी पानी पिएर
घुम्न जाऊँ तलतिर दश लाख लिएर
नानीको कुराले सातो गयो नि
दश लाखको माया त महंगो भयो नि
यस्तै हो छोडिदेऊ अब संसार
चल्न त परिगो कोही कोही अनुसार
यो तालले मायामा कहाँ फस्छु म
दश लाख तिर्दिन एक्लै बस्छु म
ढिला भो अब त घर जानलाई
जाम हिंड होटल कफी खानलाई
म फस्न चाहन्न होटल धाएर
यतै गफ गरम्ला पानी खाएर
भेट्नेछु फेरि नि अब आउने दिन
क्यामरा अन गर्छु पख एकैछिन
चिया नि कफी नि उतै खान्छु है
पेट काट्लाजस्तो भो घर जान्छु
हेर त एकचोटि मेरो आँखामा
नदाजौं मायालाई दश-बीस लाखमा
उक्त गीतमा प्रयुक्त शब्द र टुक्का अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पीडितले लगाएको जबर्जस्ती करणी र बलात्कारको आरोपका घटनासँग सोझिएको बुझ्न कठिन छैन । नवलपुर जिल्ला अदालतले त पल शाहको मुद्दामा फैसला सुनाउँदै १० लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिन समेत आदेश दिएको थियो ।
गीतले यी घटनाका पीडितलाई थप पीडा थपेको भन्दै आलोचना भइरहेको छ । केहीले गीत र गायिकालाई बहिष्कार गर्नुपर्ने माग राखेका छन् । ती घटनाका आरोपीले अदालतमा दिएका बयानकै शैलीमा गाइएको लाइभ दोहोरी गीतमा प्रयोग भएको १० लाख भन्ने शब्दले धेरैको ध्यानाकर्षण गराएको छ ।
लोकगायक राजु ढकालले गीतमा टिप्पणी गर्दै डलरको लागि कलिला मुनालाई प्रयोग गरेर गीत गाउन लगाइएको भन्दै आपत्ति जनाएका छन् । कमला घिमिरेले गाएको उक्त गीतको उक्त स्क्रिप्ट अरु कसैले लेखिदिएको हुनसक्ने अनुमान उनले गरेका छन् ।
गायिका जमुना सनमले आफूलाई उक्त गीत सुन्दै लाज लागेको टिप्पणी गरेकी छन् । दोहोरी कलाकारबाहेक सर्वसाधारण कतिपयले युट्युब भ्युज र डलरका लागि कमला घिमिरेलाई प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरुको यो आशंका किन पनि गलत छैन भने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले भद्दा, अश्लील र अपाच्य लाइभ दोहोरी गीत गाएको भन्दै केही महिनाअघि नाम चलेकासहित दुई दर्जन कलाकारलाई आइन्दा त्यसो नगर्ने सर्तमा सचेत गराएको थियो । नाम चलेका केही गायक-गायिकालाई पनि प्रतिष्ठानले स्पष्टीकरण सोधेको थियो ।
खासगरी डलर कमाउने नाममा लाइभ दोहोरी गीत छाडा बन्दै जान थालेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । त्यसको प्रभाव कमला घिमिरे र सुमन परियारको यो गीतको प्रकरणमा देखिएको छ ।
तर सामाजिक सञ्जालका कतिपयको धारणा चाहिं केही अलग छ । कमला घिमिरे र सुमन परियारले यथार्थ उजागर गरिदिएको भन्दै कतिपयले समर्थन व्यक्त गरेका छन् ।
महत्वपूर्ण कुरा, यौनहिंसाजस्तो संवेदनशील घटनाका पीडितको सामाजिक पुनर्स्थापना र सहज जीवनयापनका लागि पनि यस्ता गीतले मनोवैज्ञानिक असर पार्न सक्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया 4