+
+

जब नविन र जर्मन राइडरबीच अस्पतालमै विवाह भयो…

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १४:४६

१ पुस, काठमाडौं । सबै कुरा सामान्य नै चलेको भए नेपाली राइडर नविन गिरी र जर्मन नागरिक इंकाबीच २७ मंसिरमा चन्द्रागिरिमा विवाह हुने थियो ।

आफन्त र साथीभाइलाई पनि दुवै पक्षले चन्द्रागिरिमा बोलाइसकेका थिए । विवाहका लागि इंकाका बुबाआमा र ठूली आमा जर्मनीबाट काठमाडौं ओर्लिएका थिए ।

तर, २६ गते राति नविनलाई एक्कासी थाम्नै नसक्ने गरी पेट दुख्यो । राति २ बजे नै धुम्बाराहीस्थित ह्याम्स अस्पाल लैजानुपर्‍यो । नविनका दाजु प्रकाशदेवका अनुसार चिकित्सकले उनलाई एपेन्डिसाइिटस भएको भन्दै ११ बजेभित्रै शल्यक्रिया गरिसक्नुपर्ने बताए ।

‘शल्यक्रिया नगरी नहुने भएपछि विवाह रद्ध होला जस्तो भयो, पार्टीहरु पनि क्यान्सिल गर्‍यौं’, प्रकाशले अनलाइनखबरसँग भने ।

शल्यक्रिया सफल भयो । तर, इंकाका बुबाआमासँग धेरै समय थिएन ।

‘सार्दा माघसम्म लैजानुपर्ने भयो, बुबाआमाको टिकट १५/२० दिनको मात्रै थियो’, उनले भने, ‘भिसाको समस्या हुने भएपछि गुरुबासँग कुरा गर्‍यौं ।’

पूर्वनिर्धारित बिहान ८:३४ को साइत नाघिसकेको थियो । ‘गुरुबाले त्यही समयमा राति गर्न मिल्ने बताउनुभयो’, प्रकाशले थपे, ‘एपेण्डिसाइटिसको विरामीलाई दायाँबायाँ गर्न पनि अफ्ठ्यारो हुन्छ, त्यसैले अस्पतालमै विवाह गर्ने निर्णय गर्‍यौं ।’

त्यसपछि सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच ह्याम्स अस्पतालको ९१५ नम्बर बेडमा नविन र इंकाबीच विवाह भयो । चिकित्सक र नर्सले पनि दुवैलाई बधाई दिँदै अस्पतालमै विवाह भएको यो सम्भवतः पहिलो घटना हुनसक्ने बताए ।

‘भाइबुहारीको बिहे साह्रै रमाइलो र तामझामका साथ गर्ने रहर हुँदा हुँदै पनि स्वास्थ्यले साथ दिएन’, दाइ प्रकाश भन्छन् । अहिले नविनलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । र, उनको स्वास्थ्य स्थिति राम्रो छ ।

परिवारिक स्रोतका अनुसार दुईबीच गत वर्ष चैतमा हलेसी राइडमा जाने क्रममा चिनजान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?