
घरमा बुढापाका हुनसक्छन्, सुत्केरी हुनसक्छन्, बालबच्चा हुनसक्छन् । कतिपय घरमा रोगी र अशक्त व्यक्ति हुनसक्छन् । उनीहरुलाई उचित स्याहारसुसार जरुरत हुन्छ । समयमा सुताउने, उठाउने, खुवाउने, औषधि खुवाउने गर्नुपर्ने हुन्छ ।
यसैगरी बेलाबखत अचानक घरमा कोही बिरामी पर्न सक्छन् । टाउको दुख्छ, पखाला लाग्छ, ज्वरो आउँछ । कहिलेकाहीं चोटपटक लाग्न सक्छ, आगोले पोल्न सक्छ । यी सम्पूर्ण स्थितिमा चिकित्सक वा स्वास्थ्यकर्मी हाम्रो पहुँचमा नहुन सक्छन् । त्यस्तो बेला के गर्ने ?
यी सामान्य अवस्थामा सही स्याहारसुसार र औषधि उपचारका लागि केही आधारभूत ज्ञान हुन जरुरी छ । जस्तो, कुनै दीर्घरोगीलाई सही मात्रामा औषधि खुवाउने, उच्च रक्तचाप नाप्ने, ज्वरोको स्थिति हेर्ने, सिटामोल प्रयोग गर्ने, घाउ-चोटको औषधि लगाइदिनेजस्ता ज्ञान हुनु अनिवार्य छ ।
प्राथमिक उपचारका लागि औषधि र उपकरण
प्राथमिक उपचारको लागि घरमा सिटामोल, फ्लेक्सन, कफसिरफ, भिक्स, जीवनजल, बेटाडिन, ह्याडिप्लस, पट्टी (ब्यान्डेज), कबास, घाउ छोप्न गज, मेडिकल टेप, रविङ अल्कोहल, ह्याण्ड स्यानिटाइजर, एन्टिबायोटिक क्रिम हुनुपर्छ ।
घरमा कसैलाई अचानक ज्वरो आउँदा
घरमा कसैलाई अचानक ज्वरो आयो भने सबैभन्दा पहिले त थर्मामिटरले ज्वरो नाप्नुपर्छ । ज्वरो ९९ वा १०० भन्दा बढी छ भने खानापछि सिटामोल दिनुपर्छ । पानीपट्टी पनि लगाइदिन सकिन्छ ।
ज्वरो नाप्नको लागि थर्मामिटरलाई अन गरेर काखीमा वा मुखमा राख्नुपर्छ । ज्वरो नापिसकेपछि त्यो मेसिन बज्छ र ज्वरो कति छ देखाउँछ ।
धेरै ज्वरो आएमा कुन औषधि दिने ?
धेरै ज्वरो आएमा सिटामोल दिनुपर्छ । बालबालिकालाई भने एकैखाले औषधि दिन मिल्दैन । बालबालिकालाई उमेर र तौल अनुसार औषधि दिनुपर्छ । सानो बच्चालाई २.५ एमएल, अलि ठूलो भएपछि ५ एमएल औषधि खुवाउनुपर्छ । वयस्क व्यक्तिलाई भने आठ घण्टाको फरकमा दिनमा तीनपटक सिटामोल दिन सकिन्छ । तर दुईदेखि तीन दिनसम्म लगातार ज्वरो आयो भने घरमै अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।
अचानक कसैलाई चोटपटक लागेमा
अचानक कसैलाई चोटपटक लागेर रगत बगिरहेको छ भने सबैभन्दा पहिले त त्यो रगतलाई रोक्नुपर्छ । थिचेर, माथि उचालेर वा कुनै सफा कपडाले बाँधेर रगत बग्नबाट रोक्नुपर्छ । रगत बग्न कम भएपछि घाउलाई बेटाडिन लाएर सफा गर्ने र त्यसपछि घाउलाई सुक्न सहयोग गर्ने ‘मुपिरोसिन’ मलम लगाउनुपर्छ ।
घाउ-चोटमा प्राथमिक उपचारका लागि बेटाडिन, पट्टी (ब्यान्डेज), कपास, टेप, मुपिरोसिन मलम आवश्यक हुन्छ ।
आगो वा तातो तेलले पोलेमा
आगो, तातो तेल आदिले पोल्यो भने पोलेको ठाउँलाई तुरुन्तै चिसो पानीमा डुबाउने र घरमा घिउकुमारी छ भने त्यो लगाउनुपर्छ । घिउकुमारी लगाएपछि फोका उठ्ने र दाग बस्ने समस्या हुँदैन ।
रुघाखोकी लागेमा
रुघाखोकी लाग्दा घरमा प्राथमिक उपचारमा औषधि सेवन गर्नुभन्दा पहिले तातो पानी खाने, बाफ लिने गर्नुपर्छ । यति गर्दा पनि कम भएन र खोकी लागिरह्यो भने एन्टिकफ सेवन गर्न सकिन्छ । अलि अलि ज्वरो आएको छ, जिउ पनि दुखेको छ र रुघाखोकी लागेको छ भने साइनेक्स पनि खान सकिन्छ । यी सबै उपाय अपनाउँदा पनि कम भएन भने अस्पताल जानुपर्छ ।
दीर्घरोगीको ख्याल कसरी गर्ने ?
घरमा कोही मधुमेह, उच्च रक्तचाप लगायत दीर्घरोगका बिरामी छन् भने उनीहरुको खानपिनमा ध्यान दिनुपर्छ । उच्च रक्तचापका बिरामीलाई धेरै नुनिलो र चिल्लो खानेकुरा दिनु हुँदैन । मधुमेहको बिरामी छन् भने धेरै गुलियो, धेरै चिल्लो खानेकुरा दिनु हुँदैन ।
औषधि सेवन गरिरहेका बिरामी हुन् भने दैनिक औषधि खान सम्झाउनुपर्छ । समय-समयमा उनीहरुको रक्तचाप र मधुमेहको जाँच गरिरहनुपर्छ ।
बुढापाका, सुत्केरी र रोगीको स्याहार
घरमा बुढापाका, सुत्केरी र रोगी छन् भने उनीहरूको खानपानमा विशेष ध्यान दिनुपर्छ । बुढापाकालाई नरम सुपाच्य र पोषिलो खानेकुरा दिनुपर्छ । सुत्केरीलाई दूध बन्ने झोलिलो र पोषिलो खाना र रोगीलाई पिरो चिल्लो कम भएको खाना दिनुपर्छ ।
औषधि सेवन गरिरहेका बिरामी छन् भने समयमा औषधि खान दिनुपर्छ । उनीहरूलाई स्नेहका साथ मानसिक र भावनात्मक रूपमा खुसी राख्नुपर्छ ।
(नर्स चौधरीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4