
टेक्सस, अमेरिका । अमेरिकास्थित नेपाली दूतावासले टेक्ससमा कन्सुलर शिविर सुरु गरेको छ । नेपाली समुदायलाई लक्षित गर्दै आयोजित शिविर टेक्ससको मुख्य सहरहरुबाट प्रारम्भ भएको हो ।
शिविरमा राहदानी नवीकरण, गैरआवासीय नेपाली परिचयपत्र, विद्युतीय राहदानी र परामर्श सेवा प्रदान गरिने भएको छ । बिहीबारदेखि सुरु भएको शिविर ६ दिनसम्म टेक्ससका नेपाली समुदाय बहुल क्षेत्र अभिङ्ग, अस्टिन र ह्युस्टनमा सञ्चालन हुने भएको छ ।
डिसेम्बर १५, १६ र १७ मा शिविर अर्भिङस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा सञ्चालन हुनेछ । डिसेम्बर १८ र १९ मा अस्टिनस्थित क्यन्स हल कन्ट्री रोड हुट्टोमा र २० तारिखमा ह्युस्टनको रिचमण्ड एभमा सोही प्रकारको शिविर सञ्चालन हुनेछ ।
दूतावाससँगै एनआरएनए टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, नेपाली समाज ह्युस्टन, ग्रेटर अस्टिन नेपाली सोसाइटी र क्रियटिभ नेप्लिज सोसाइटीको संयुक्त आयोजनामा शिविर सुरु गरिएको एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापाले बताए ।
दूतावासले प्रदान गर्ने भनिएको अधिकृत वारेसनामा प्रमाणीकरण सेवा हाललाई विशेष कारणवश स्थगित गरिएको भए पनि नेपालीका लागि महत्वपूर्ण सरोकार राख्ने अन्य सेवाहरु भने पूर्वकार्यतालिका अनुसार नै सञ्चालन हुने जनाइएको छ ।
शिविरमा उठान हुने केन्द्रयी विषयबाट नेपाली समुदायले प्रभावकारी परामर्शसहितको सेवा प्राप्त गर्न सक्ने आयोजकले जानकारी दिएको छ । शिविरमा सहभागी हुन दूतावासले टेक्सस क्षेत्रका नेपाली तथा नेपाली समुदायका प्रतिनिधिमूलक संस्थालाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4