
काठमाडौं । नेपाली फिल्म हलको छाता संस्था चलचित्र संघले व्यवसाय बचाउनुपर्ने परिस्थिति आएको भन्दै चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्ने भएको छ ।
आज (पुस १) गते देशभरका सबै सदस्यलाई पत्र लेख्दै महासचिव नरेन्द्र महर्जनले बोर्डको नाम तोकेरै त्यसविरुद्ध आन्दोलन गर्ने बताएका छन् । यसका लागि पुस ६ गते काठमाडौंमा हल सञ्चालकहरुको बृहत भेला गरिने जनाएको छ । भेलाले आन्दोलनको स्वरुप तय गर्ने संघको भनाइ छ ।
संघले वास्तविक चलचित्र व्यवसायीको प्रतिनिधित्व गर्न बोर्डले नसकेको र केही समयदेखि विभिन्न बहानामा अनावश्यक दुःख दिएको आरोप लगाएको छ । चलचित्र वितरक तथा प्रदर्शकलाई विस्थापित गर्ने मनसायको क्रियाकलाप गरेको आरोप पनि संघले लगाएको छ ।
यसैबीच, अनलाइनखबरसँग कुरा गर्दै बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि आफूले सबैलाई समेटेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । कानुन विपरीतका कार्य आफूबाट नहुने भन्दै उनले सबैलाई मिलाएर अघि बढ्ने बताए ।
उनले चलचित्र संघ लगायतका संघसंस्थालाई वार्तामा बोलाउने संकेत गरे ।
प्रतिक्रिया 4