+
+

वर्ष २०२३ मा विश्व फिल्मको बक्स अफिस आकार २९ अर्ब डलर पुग्ने

२०२४ सम्म बजार महामारीअघिको स्तरमा पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १२:२७

काठमाडौं । कोरोना महामारीपछि पनि विश्व फिल्मको बक्स अफिस वृद्धि सुस्त तर स्थिर गतिमा हुने भएको छ ।

बक्स अफिस अध्ययन संस्था गोवर स्ट्रिटले सन् २०२२ को अन्त्यसम्म विश्व फिल्मको अर्थतन्त्रको आकार २५.८ बिलियन डलर पुग्ने आँकलन गरेको छ । गत वर्षको तुलनामा यो वृद्धि २१ प्रतिशतले बढी हो ।

‘टपगन माभेरिक’, ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’जस्ता फिल्मले बक्स अफिस आकार वृद्धि गर्न भूमिका खेलेको उल्लेख छ । उक्त फर्मले सन् २०२३ मा बक्स अफिस आकार गत वर्षभन्दा १२ प्रतिशतले वृद्धि भएर २९ विलियन डलर पुग्ने प्रक्षेपण गरेको छ ।

यो कमाइ कोभिड महामारीले फिल्म हलहरु बन्द हुनुअघिको तहभन्दा अझै न्यून हो । महामारीअघि सन् २०१९ मा बक्स अफिस आकार इतिहासकै उच्च बिन्दु अर्थात् ४२.३ बिलियन डलरमा पुगेको थियो ।

गोवर स्ट्रिटले सन् २०२३ को लागि गरेको प्रक्षेपण महामारीअघिको कालखण्ड २०१७ देखि २०१९ को भन्दा अझै २७ प्रतिशतले कम हो । संसारको दोस्रो ठूलो फिल्म बजार चीनले शून्य कोभिड नीति लागू गरेकाले हलहरु लामो समय बन्द हुँदा फिल्म बजार लयमा फर्कन समय लाग्यो । अर्को ठूलो फिल्म बजार रुसले गत फेब्रुअरीमा युक्रेनमाथि हमला गरेपछि विश्व फिल्मले त्यहाँ प्रतिबन्ध लगाएको अवस्था छ । यस वर्ष चिनियाँ बक्स अफिसको आकार सन् २०२१ को भन्दा तीन बिलियन डलरले कम हुने आँकलन गरिएको छ । रुसविरुद्धको बहिष्कारले एक बिलियन डलर कम कमाइ हुने अनुमान छ ।

जेम्स क्यामरुनको ‘अवतार : वे अफ वाटर’ रिलिजले यस वर्षको बक्स अफिस आकार वृद्धिमा योगदान दिने आशा छ । चीनमा समेत रिलिज भएको सन् २००९ को हिट फिल्म ‘अवतार’को यो दोस्रो श्रृंखलाले पहिलो सप्ताहन्त चीनमा ११९ मिलियन डलरदेखि १२८ मिलियन डलर कमाउने प्रक्षेपण छ ।

सन् २०२३ मा उत्तर अमेरिकाको बजार १२ प्रतिशत अर्थात् ७.६५ बिलियन डलरबाट बढेर ८.६ बिलियन डलर पुग्ने प्रक्षेपण छ । तर तीन वर्ष चलेको महामारीभन्दा यो आकार अझै २५ प्रतिशतले कम हो । एसिया प्रशान्त क्षेत्रको बजार चीन र ल्याटिन अमेरिकाको बजार सन् २०२२ मा ११ देखि १२ प्रतिशतले वृद्धि हुने अनुमान छ जुन महामारीअघिको भन्दा २० प्रतिशतले तल हो ।

उक्त फर्मले गरेको अध्ययनअनुसार विश्वव्यापी बक्स अफिस कोरोना महामारी पहिलेको स्थितिमा फर्किन फिल्म उद्योगले कम्तीमा २०२४ सम्म पर्खनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?