
३ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन् ।
शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताएका हुन् ।
‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताका लागि काम गर्नुहुन्छ र इमानदारीका साथ काम गर्नुहुन्छ भने तपाईंलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय संस्थाहरु र लगानीकर्ताहरु लगानी गर्न तयार हुन्छन् । अहिले भलै बैकमा तरलताको समस्या देखिएको छ । तर मलाई लाग्छ यो समस्या लामो रहँदैन । विस्तारै सहज हुँदै जान्छ’ उनले भने ।
मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरु मारमा परेको उनले बताए ।
अहिले निजी क्षेत्रले उठाएको एजेण्डाहरु निजीक्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारका लागि रहेको भन्दै उनले निजी क्षेत्रका एजेन्डा बेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबैले भोग्नुपर्ने बताए।
सरकारी संयन्त्रबीच एकआपसमा समन्वयको कमी रहेको भन्दै उनले यसको मार निजी क्षेत्रले खेप्नुपरेको बताए ।
प्रतिक्रिया 4