
४ पुस, विराटनगर । प्रदेश-१ प्रदेशसभा सचिवालयले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण पछि प्रदेश १ का सांसदको शपथ गराउने तयारी गरेको छ ।
प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण पुस ७ गतेका लागि तोकिएको छ । प्रदेश-१ मा त्यसपछि शपथ ग्रहण गराउने तयारी भएको हो ।
प्रदेश १ प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार शपथ ग्रहणको तयारी भइरहेपनि मिति तोकिएको छैन ।
‘संघको शपथ ग्रहणपछि प्रदेशमा गराउने तयारी छ’, उनले भने, ‘समय भने तोकिएको छैन ।’
प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९३ सांसदमध्ये ज्येष्ठ सदस्यलाई शपथग्रहण गराएपछि ज्येष्ठ सदस्यले अन्यलाई सपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।
प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना समानुपातिक सांसद छन् । तीमध्ये ज्येष्ठ सदस्य नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ५(१) मा निर्वाचित गयानन्द मण्डल ज्येष्ठ सदस्य हुन् ।
प्रदेशसभा सचिवालयका सचिव पराजुलीले मण्डलले नै शपथग्रहण गराउने तयारी भएको बताए । निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणअनुसार मण्डल ७९
वर्ष पुगेका छन् ।
प्रदेश सभा सदस्यको अन्तिम नामावली शनिबार निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको थियो । आयोगले बुझाएको नाम प्रदेश प्रमुखको कार्यालयबाट संसद् सचिवालयमा पठाइसकेको छ।
सचिव पराजुलीले ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखको अनुकुल समय मिलाएर शपथ गराएपछि अन्य सांसदलाई समय मिलाएर शपथ ग्रहण गराइने बताए ।
सभामुख छनोट नभएसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभाको बैठक पनि बस्नेछ ।
प्रतिक्रिया 4