
लगभग १० मिनेटदेखि ब्रुकलिनको पाँचौं स्ट्रिटमा म लखरलखर हिंड्दैछु। ३ डिग्रीको चिसो मौसम, मन्द हावा तर खुलेको आकाश, मीठो सूर्यको किरणको स्पर्श। ‘एउटा पार्क भेट्टाउन पनि कति गाह्रो हो?’ म मनमनै सोच्छु।
माहोल सधैं झैं सबै सामान्य नै छ। तर मभित्र एउटा छुट्टै गद्गदी छाएको छ। लागिरहेछ सडकमा गुडिरहेका सबै कार छेकेर एक छिन नाचिदिऊँ। यो गद्गदीलाई शब्दको स्वरुप दिएर डकुमेण्ट गर्ने चटारोको एउटै कारण हो- मेसीले अन्तत: विश्वकप उचाले।
साउदी अरेबियासँगको सुरुवाती गेमपश्चात् यदि कसैले मलाई यो भविष्यवाणी सुनाएको भए म पत्याउन्नथिएँ होला। त्यति मात्र हैन केवल ३० मिनेट अघि जब एम्बाप्पेको रकेट सरहको प्रहारले अर्जेन्टिनाको अब्बल खम्बा जसरी उभिएका एमिलियानो मार्टिनेजको पञ्जालाई छुँदाछुँदै पोस्टको जाली चुम्यो र फ्रान्सको मोमेन्टम आकाशियो तब कसैले यो विश्वकप अझै पनि अर्जेन्टिनाले जित्छ भनेको भए पनि सायदै पत्याउँथे।
तर जब १२३ मिनेटको राप र ताप सकेर खेल पेनाल्टीमा पुग्यो र जब गोञ्जालो मोण्टिएलको अन्तिम पेनाल्टीले फ्रेन्च गोलरक्षक हुगो लोरिसलाई छक्याएर पोस्टको जाली चुम्यो, लाग्यो एउटा निकै गह्रुङ्गो पत्थर मबाट उठ्यो। ममा छुट्टै ऊर्जा आयो। म अझै पत्याउन सकिरहेको थिइनँ। कुनै एउटा टिमप्रति यति मोह आखिर कसरी आउन सक्छ ? आउँदो रहेछ, त्यो टिममा लियोनल मेसी जो छन्।
लियोनल एण्ड्रेज मेसीले विश्वकप जित्दैमा मेरो जीवनमा तात्विक भिन्नता केही आउँदैन। तर अर्जेन्टिनाको सानो रोसारियो नगरबाट उदाएका यी ‘लिटिल म्यान’ प्रतिभाका खानी हुन्। मलगायत करोडौंका प्रेरणाका स्रोत हुन्। अब गर्वसँग सबैले भन्ने ‘ग्रेटेस्ट अफ अल टाइम’ हुन्।
हुन त मेरो निम्ति त्यो सम्मान उनले विश्वकप नजिते पनि पाउँथे नै। किनकि ३५ वर्षमा मेसीले यो टुर्नामेण्टमा जति गरे, थाहा छैन सोभन्दा बढी उनले के नै गर्न सक्थे र? उनले गोल गर्दागर्दै उनलाई त्यही लेभलका डिफण्डरहरू चाहिन्थ्यो।
अर्जेन्टिनाले आफ्नो डिफेन्सलाई बलियो पार्न नसक्दाको सजाय अन्त्यमा लगभग पाइसकेको थियो। तर खेलको निर्णायक घडीमा पुगेर २ मिनेटभित्र दुई गोल खाएर पनि थामिनु चानचुने कुरा पक्कै हैन। कुनै खोलाको बाँध फुट्दा फुट्दै जोगिए जस्तो।
विश्वकपको अन्तिम म्याच क्राउडमा नै हेर्ने प्लानमा म ब्रुकलिन शहरको बेडफोर्ड नगरमा पुगेको थिएँ। फ्रेन्च साथी मार्कको सुझावमा म फ्रेन्च रेस्टुराँ ‘बिस्ट्रो सो’ मा पुगेको थिएँ ।
‘हुन त माहोल निकै रमाइलो नै हुन्छ तर फाइनलमा खुट्टा टेक्ने माहोल नहुन सक्छ है’, मार्कको सुझाव थियो । जे होला देखाजाएगा भन्दै म त्यतैतिर त लागें तर यात्रालाई सबवेले ढिला गर्यो।
विकेन्डमा सबवेको भर पर्नु नै नहुने रहेछ, म आफूलाई नै सराप्दै दगुर्दै थिएँ । ट्रेनबाटै अनलाइनबाटै द गार्डियन म्यागाजिनको लाइभ कमेन्ट्री पढ्दैथिएँ। सुरुवाती हाफमा नै मेसीको पेनाल्टी र डी मारियाको गोलको अपडेटले साह्रै रोमाञ्चित बनायो।
ल है खेल चाँडै सकिने भयो, म केही आशावादी भएँ। बिस्ट्रो सोमा पुग्दा मार्कले भने जस्तै खुट्टा टेक्ने ठाउँ थिएन। अन्य अन्जान साथीहरुसँगै एकछिन झ्यालबाट चियाएपछि हाल्फ टाइममा भित्रिने माहोल बन्यो ।
फ्रान्सको प्रस्तुतिले केही समर्थक खिन्न भएर बाहिरिंदै थिए। मेरो पालो आफूलाई भित्र छिराइहालें र एउटा साँघुरो स्पट आफ्नो लागि बनाइहालें। ४५ मिनेटको आशा गरेर छिरेको म लगभग दुई घण्टाको रोलर कोस्टरमा छिरेजस्तो अनुभव भयो।
जसै ओटामेण्डीले मवाडीलाई फल गरे र पेनाल्टीमार्फत एम्बाप्पेले एक गोल फर्काए, त्यसपछिको माहोल बिल्कुल क्रेजी बन्यो । पिचमा मात्रै हैन, यो सानो ब्रुकलिनको रेस्टुराँमा पनि। त्यसको दुई मिनेट नबित्दै जब एम्बाप्पेले अर्को गोल गरे, मलगायत अर्जेन्टिनाका समर्थकहरु हैरान थियौं। फ्रान्स समर्थक साथीहरूको गीत चर्किन थाल्यो। हाम्रो नर्भसनेस बढ्दोथियो।
जब थप समयको लगभग ११० मिनेटतिर मेसीले अर्को गोल गरे, ५/१० जनाको हाम्रो सानो अर्जेन्टिनी समर्थकको समूहको गर्जन फेरि उच्चो हुनथाल्यो। मानौं कि त्यो रेस्टुराँमा दोहोरी चल्दैछ। तर त्यतिन्जेल हामीलाई अझै थाहा थिएन कि त्यसको दश मिनेटभित्र फेरि एम्बाप्पेले अर्को पेनाल्टी गोल गर्दैछन्।
तर यो उतारचढाव सिद्धिएर पेनाल्टीको प्रवेग थन्क्याएर जब उक्त रेस्टुरेन्टबाट बाहिरिंदै आफ्नो बाटो लाग्दैथिएँ। एउटा सुकुन थियो मनमा। किनकि विश्वकप अन्ततः लियोनल मेसीको भएरै छाड्यो।
प्रतिक्रिया 4