+
+

‘कुसुमे रुमाल’को विवाद पुनः सतहमा, रञ्जित गजमेरले लगाए उद्धव पौडेलमाथि आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १७:१९

काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरले साढे तीन दशक पुरानो फिल्म ‘कुसुमे रुमाल’को सन्दर्भ उल्लेख गर्दै फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलमाथि आरोप लगाएका छन् ।

सोमबार सार्वजनिक भएको गजमेरको आत्मकथा ‘मोहनी मादलको’ पुस्तकमा गजमेरले उक्त फिल्मलाई नेपाल प्रदर्शन गर्ने विषयमा पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन् ।

गजमेरको यो आरोपसँगै २५ वर्ष पहिले तत्कालीन निर्माता संघ र सर्वोच्च अदालतबाट समेत सल्टिसकेको ‘कुसुमे रुमाल’का निर्माताबीचको विवाद पुनः सतहमा आएको छ । रजतजयन्ती मनाउने पहिलो नेपाली फिल्म समेत रहेको यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए । भुवन केसी, तृप्ति नाड्कर र गायक उदितनारायण झा फिल्ममा प्रमुख भूमिकामा थिए । उदितनारायणले पहिलोपटक फिल्ममा अभिनय गरेका थिए ।

गजमेरले के लेखेका छन् ?

‘हामीले अत्यन्त विश्वासका साथ पौडेललाई ‘कुसुमे रुमाल’को पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौं । तर नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो ब्यानरमा दर्ता गर्नुभएछ । सिनेमा धुमधामले चल्यो, ठाउँठाउँमा सिल्भर जुबली र ‘१००’ दिन पनि मनायो ।

‘कुसुमे रुमाल’को कमाइबाट पौडेलले सिनेमा हल निर्माण गर्नुभएको पनि सुनियो । तर पौडेलले मुनाफाको एक पैसा पनि हामीलाई दिनुभएन । उहाँ एकाएक हामीसँग वैरी हुनुभयो । हाम्रोबीच त्यो बेलादेखि बन्द भएको बोलचाल आजपर्यन्त कायमै छ ।

हाम्रै घरमा बसेको, मेरै श्रीमतीले पकाएको खाएको मान्छेले त्यसरी धोका देला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ ।’

संगीतकार रञ्जित गजमेर र फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेल

यसबारेको विवाद सल्टिसकेको थियो : उद्धव पौडेल

उहाँ त्यो फिल्मको संगीतकार चाहिं हो । उहाँले किन त्यसो भन्नुभयो थाहा छैन । फेरि नेपालमा आएर किन गर्नुपर्‍यो त्यो कुरा ? उहाँको आफ्नै सिनेमा थियो भने आफैंले नेपालमा रिलिज गर्दा हुन्थ्यो । नेपालमा फिल्म चलाउन नेपाली नागरिक नै हुनुपर्दैन । उहाँलाई प्राविधिक समस्या पर्‍यो भन्ने कुरा नै गलत हो । उहाँको श्रीमती कुसुम कुमारीको नाम सहनिर्माताको रुपमा थियो ।

कुसुमे रुमालको निकै विवाद भयो । चलचित्र निर्माता संघदेखि अदालतमा मुद्दा चल्यो । सबै संघसंस्थाले कम्प्रमाइज गराएर सक्किसकेको विषय थियो यो । उहाँ कुसुमे रुमालको फस्ट पर्सन, सेकेन्ड पर्सन पनि होइन । तुलसी घिमिरे र श्रवण घिमिरेजी हो आधिकारिक मान्छे ।

यस विषयमा मैले धेरैपटक बोलिसकेको छु । जतिबेला उहाँ हुनुहुन्थ्यो, त्यतिबेला तुलसी घिमिरेसँग उहाँको सम्बन्ध पनि गाँसिएको थिएन । तुलसी र श्रवणजीसँग डिल भएको हो यी कुराहरु । उहाँले किन भन्नुभयो थाहा भएन । निर्माता संघको रोहवरमा अदालतमा हालेको मुद्दामा पनि सहमति भएर सल्टिसकेको कुरा थियो ।

चलचित्र निर्माता संघका तत्कालीन महासचिव अशोक शर्माले दुवै पक्षलाई बोलाएर सकिएको विषय हो यो । यस विषयमा हामी नबोल्ने, नलेख्ने, एकअर्कालाई दोष नलाउने भनेर कागज गरिएको छ ।

मैले नै विवाद मिलाइदिएको हुँ : अशोक शर्मा

त्यो उनीहरुको लेनदेनको विवाद थियो । त्यो फिल्म तुलसी घिमिरेले बनाएको र पछि त्यसमा उद्धव पौडेल सहभागी हुनु भएको हो । नेपाल रिलिजको हिसाबकिताब उद्धव पौडेलसँग र उताको रिलिजको हिसाबकिताब तुलसी घिमिरे र श्रवण घिमिरेसँग ।

त्यही लेनदेनको विवाद थियो । त्यो विवादले धेरै मुद्दामामिला भयो । म महासचिव भएको बेला न्यायिक समितिमा दुवै पक्षलाई बोलाएर त्यहाँ समझदारी गराएर अनि त्यो लेटर सर्वोच्च अदालतमा पठाएर मुद्दा फिर्ता लिएको हो ।

लेनदेनमा जुन विवाद थियो, यसमा दुवै पक्षले कम्प्रमाइज गर्ने कुरा भयो । रकम त ठ्याक्कै थाहा भएन तर त्यतिबेलाको लागि त्यो रकम ठूलै कुरा थियो । प्रिन्टको कुरा भन्दा पनि लेनदेनको कुरा थियो । त्यसबाहेक दर्पणछायाँ भन्ने फिल्मको सेयरको पनि गोपीकृष्णबाट सेयर पनि प्राप्त नभएको कुरा पनि थियो । यी कुराहरु मैले मिलाइदिएको हो । २०-२५ वर्षअघि नै यो कुरा सल्टिएको हो । सहमति भएर अबदेखि यो लफडालाई टुंग्याउने सहमतिसहितको उहाँको कारोबारसहितको कुरा मिलाएर लेनदेन पनि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?