
५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।
मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत रहेका खानले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही जिल्लाबाट एकजनालाई पनि विजयी गराउन नसकेको साथै समानुपातिक मत पनि २०७४ को तुलनामा धेरै घटेको भन्दै राजीनामा दिएका हुन् ।
प्रतिनिधि सभामा मुस्लिम क्लस्टर कोटा ‘कोल्याप्स’ भएकोमा पनि उनी असन्तुष्ट छन् । त्यसैले निर्वाचनमा भोगेको पराजयबाट आफूलाई पदमा रहिरहन नैतिकताले नदिएको भन्दै खानले दुवै इन्चार्ज पदबाट राजीनामा दिएका हुन् ।
उनले प्रेस वक्तव्य जारी गर्दै आफ्नो राजीनामाबाट पार्टीपंक्ति र मुस्लिम मुक्ति मोर्चा नेपाल सम्बद्ध सबै सदस्यमा पर्न जाने असुविधाप्रति क्षमा पनि मागेका छन् ।
गत मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका पूर्व नेता घनश्याम भुसाललाई माओवादी केन्द्रले समर्थन गरेको थियो । तर भुसाल पराजित भएका थिए ।
माओवादी केन्द्रबाट प्रदेशसभा तर्फ रुपन्देही क्षेत्र नं. २ को ‘२’ मा बामदेव क्षेत्री र ५ को ‘१’ मा विनोद पहाडी उम्मेदवार थिए । उनीहरु पनि पराजित भएका थिए ।
प्रतिक्रिया 4