
५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् ।
उनी चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे काठमाडौं आइपुगेको उनको सचिवालयले जनाएको छ । उनलाई स्वागत गर्न माओवादी युवा नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङलगायत विमानस्थल पुगेका थिए ।
वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए ।
नेपालबाट चीन जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको पुनकी श्रीमती ओनसरी घर्तीले जानकारी दिइन् ।
उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ रहेकोमा हाल घटेर १८ मा आएको पनि पुनको सचिवालयले जनाएको छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र त्यसपछि चीनमा उपचार गरिएको थियो ।
प्रतिक्रिया 4