
५ पुस, धनगढी । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गतेका लागि तय गरिएको छ ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ गराउने तय भएको जानकारी दिए ।
बोगटीकाअनुसार अछाम क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुखबाट सोही दिन शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले नै अन्य ५२ जना प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
प्रदेशसभा सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।
‘पद तथा गोपनियताको शपथ ग्रहणपछि सचिवालय परिसरमै नवनिर्वाचित माननीय ज्यूहरुको स्वागत तथा चियापान कार्यक्रम गर्ने पनि हाम्रो तयारी छ,’ सचिव बोगटीले भने । निर्वाचन आयोगले पुष २ गते प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएको थियो ।
अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि बैठकको मिति तय गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अन्तिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र प्रदेश प्रमुखको आह्वान बमोजिम नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ ।
प्रदेशसभाको अधिवेशन आह्वान र नयाँ सरकार गठनका विषयमा सबै पक्षसँग छलफल गरेर प्रदेश प्रमुखले मिति तय गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4