
एउटा लाश चिच्याउँछे मध्यरातमा
र न्याय माग्छे
चियाउँछे सबै जेलका कैदी र हिरासतका थुनुवाहरुलाई
देख्दिनँ आफ्नो हत्यारा
अनि उ फेरि मर्छे ।
पोस्टमार्टममा मृत्युको कारण देखिन्छ न्याय नपाएको ।
आजकल मेरो देशमा धेरै लाश निराश छन् ।
कानुनका दफा–उपदफा सबै वनवास छन् ।
……..
नजन्मिएका छोरीहरु चिच्याउँछन्, मर्नु परेको आक्रोशमा
आफ्नै वा को विरुद्ध उजुरी दिन जान्छे प्रहरीकोमा
तर आफ्नै बा जेल जाने डरले
उ फेरि मर्छे ।
स्वर्गमा धेरै भर्खरै फर्किएका गुराँस छन्
आजकल मेरो देशमा धेरै लाश निराश छन् ।

……..
एउटा लाश अपुग दाइजो लिएर आफ्नो ससुराल गई
मिति : आफ्नै श्रीमानको नयाँ बिहेको दिन
स्थान : आफैंलाई जलाएको कोठा
नयाँ टिभी, नयाँ दराज, नयाँ घडी, मोटरसाइकल नयाँ, दुलही नयाँ, सबै
नयाँ
तर नयाँ सधैं नयाँ हुँदैन ।
उ नयाँ बेहुली आफ्नी जीवित सौतालाई अलिक पुरानी भए पछि नयाँ
लाशको निम्तो दिएर गई ।
कारण खोज्नु छ, किन पीडितहरु रुन्छन्, पीडकहरु
हाँस्छन्
आजकल मेरो देशमा धेरै लाश निराश छन् ।
……..
त्यो घुरेर हेर्ने अंकलको बारेमा बेलैमा आमालाई भन्न पाएको भए ।
त्यो संवेदनशील अंगमा छुने शिक्षकको विषयमा प्रहरीलाई उजुर गर्न
पाएको भए
उनी जिउँदै हुन्थिन् ।
उमेर : चौध वर्ष हुन्थिन्
त्यो जेलमा हुन्थ्यो ।
कटु सत्य, न्याय सबै अन्यायको दास छन्
आजकल मेरो देशमा धेरै लाश निराश छन्
प्रतिक्रिया 4