
५ पुस, काठमाडौं । सार्वजनिक कुलोको जग्गा व्यक्तिको नाममा गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालिन नापी अधिकृत र जग्गाधनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कुलोको जग्गा व्यक्तिको नामको जग्गामा घुसाई नक्सा बनाएको आरोपमा तत्कालिन नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव र सर्भेक्षक ठाकुरप्रसाद गुरौ र जग्गाधनी कृष्णप्रसाद पोखरेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
रुपन्देहीको साबिक दुधराक्ष गाबिस- ७ क को कित्ता नं. ८५४ को पूर्व र उत्तर पूर्वतर्फको सरकारी सार्वजनिक कुलोको ४१७.८६ वर्गमिटर क्षेत्रफल र वडा नं २ क को कित्ता नं. ६५२ मा दक्षिणतर्फको सार्वजनिक कुलोको ७६.८७ वर्गमिटर क्षेत्रफल गरी जम्मा ४९४.७३ वर्गमिटर जग्गा फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
कुलोको जग्गा घुसाएर सरकारी मुल्यांकन अनुसार १० लाख ६५ हजार २०५ रुपैयाँ ५० पैसा बराबरको भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरुसँग सोही बराबरको रकम विगो माग गरेको छ । कुलोको जग्गा घुसाइएको सो जग्गा जग्गाधनी कृष्णप्रसाद पोखरेलले बिक्रीसमेत गरिसकेका थिए । अख्तियारले सो जग्गा किन्नेहरुविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया 4