
५ पुस, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानमा भेला गरेर एमाले नेतृत्वले सोध्यो, हामीले मंसिर ४ को चुनाव हा¥यौं कि जित्यौं, कमरेड ? अनि आफैंले जवाफ दियो, हामीले चुनाव मात्र होइन, राजनीति र जनताको मन पनि जित्यौं ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएको एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० लाख भोट अर्थात् (कम्तीमा ५० सिट) ल्याउने दाबी गरेको थियो । तर नतिजा चाहिं प्रत्यक्षतर्फ आधाभन्दा कम अर्थात् ४४ सिट जित्यो भने समानुपातिकमा दाबी गरेको आधा बढी अर्थात् २८ लाख भोट कटाएको छ ।
आफ्नो दाबी र चुनावी नजितामा आएको अन्तरको एमालेमा साङ्गोपाङ्गो समीक्षा गर्नै बाँकी छ । तर नेतृत्व वरिपरि रहेको टिमले भने एमालेले चुनाव हारेको होइन, जितेको हो भन्ने भाष्य स्थापित गर्न खोजेको देखिन्छ । त्यसका लागि तीन वटा तर्क अघि सारेको छ ।
पहिलो : पपुलभर भोटमा पहिलो
दोस्रो : चौतर्फी घेराबन्दीबीच प्रत्यक्षतर्फ ३१ प्रतिशत मत
तेस्रो : ६ वटा प्रदेशमा पहिलो शक्ति
पहिलो तर्क अनुसार, प्रतिनिधिसभाको समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मतका साथ एमाले पहिलो पार्टी भएको हो । यसले एमाले जनताको रोजाइको पहिलो पार्टी बनेको भन्दै एमालेले नेता कार्यकर्तालाई प्रश्न गरेको छ, ‘कमरेड, अब तपाई आफैं भन्नुस्, जनताको अभिमतद्वारा देशमा सबभन्दा धेरै रुचाइएको पार्टी बन्नु भनेको जनता हार्नु हो कि जित्नु हो ?’
तर चुनाव जितेको दाबी गर्दै गर्दा एमालेले ५० लाखको लक्ष्य पूरा नभएको मात्रै नभएर २०७४ मा जति पनि मत नआएको तथ्य समेत लुकाएको छ । अघिल्लो चुनावमा समानुपातिकर्फ ९५ लाख ४४ हजार ७७९ मत सदर भएको थियो र एमालेले सर्वाधिक ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । यो कुल सदर मतको ३३. ३५ प्रतिशत हो ।
यो पटक समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ । अर्थात् अघिल्लो पटकभन्दा १० लाख बढी मत खसेको छ । तर सबभन्दा धेरै मत पाएको एमालेले २८ लाख ४५ हजार ६४१ मत मात्र पाएको छ । जुन कुल सदर मतको २६.९५ प्रतिशत हो ।
आफ्नो जित देखाउन एमालेले चौतर्फी घेराबन्दीबीच प्रत्यक्षतर्फ ३१ प्रतिशत मत पाएको तर्क अघि सारेको छ । ‘हामी थियौं एकातिर, सत्ताधारी ५/५ दल अर्कातिर । हामीलाई चारैतिरबाट घेरा हालिएको थियो, हाम्राविरुद्ध झुटा सूचनाको बाढी बगाइएको थियो,’ प्रज्ञा भवनमा देखाइएको भिडियोमा भनिएको छ, ‘२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ जति मत प्राप्त गरेका थियौं, अहिले पनि त्यति नै मत प्राप्त गरेका छौं ।’
आफ्नो दलले अघिल्लो पटक बराबर ३१ प्रतिशत मत पाएको, बरु कांग्रेसको करिव १३ र माओवादीको करिव ६ प्रतिशत मत घटेको एमालेको तर्क छ ।
सामान्यतः, प्रत्यक्षमा मत होइन, सिट संख्या गनिन्छ । सिट संख्या नै गन्दा ०७४ भन्दा एमालेले यसपटक ४३ सिट गुमाएको छ । त्यसबेला १०३ सिटमा उम्मेदवारी दिएको एमालेले ८० सिट जितेको थियो । यो पटक १४१ क्षेत्रमा उम्मेदवारी दिएको एमालेले ४४ सिटमा मात्र जितेको छ ।
अनि, एमालेले सत्ता गठबन्धनमा रहेका पाँच दलसँग एक्लै प्रतिस्पर्धा गरेको पनि होइन । एमालेले राप्रपासँग झापा, रुपन्देही र बाँकेमा चुनावी तालमेल गरेको थियो भने जनता समाजवादी पार्टी (जसपा)सँग मधेस प्रदेशका ८ सहित १४ जिल्लामा तालमेल गरेको थियो । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले राप्रपाको सहयोग पाएका थिए । राप्रपा र जसपाको सहयोगमा एमालेले २१ सिट जितेको छ ।
साथै एमालेले दाबी गरेजस्तो प्रत्यक्षतर्फ ३१ प्रतिशत होइन, जम्मा २६.९५ प्रतिशत मत पाएको थियो ।
एमालेले ६ वटा प्रदेशमा पहिलो पार्टी भएको तर्क गर्दै चुनाव जितेको बताएको छ । एमालेले भनेजस्तै प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ सबभन्दा धेरै मत पाएको छ ।
तर सात प्रदेशमध्ये मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमालेको समानुपातिक मत बढेपनि अन्त घटेको छ ।
प्रत्यक्षतर्फ त मधेश प्रदेशमा एक सिट बढाएको एमालेले बाँकीमा भारी सिट गुमाएको छ । २०७४ मा प्रदेश १, बाग्मतीमा एमालेको प्रष्ट बहुमत थियो भने गण्डकी र कर्णालीमा बहुमत नजिक थियो । तर यो पटक कुनै पनि प्रदेशमा एमालेको बहुमत छैन भने प्रदेश १ बाहेक अन्यत्र बहुमतको नजिक पनि छैन ।
तैपनि एमालेले चुनाव मात्र जितेको होइन, राजनीति र जनताको मत दुबै जितेको दाबी गरेको छ । एमालेले आफ्ना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई भनेको छ, ‘गठबन्धनको मात्र होइन, दृश्य अदृश्य शक्तिको समेत आक्रामण, राज्य शक्तिको दुरुपयोग र झुटा सूचनाको तुवाँलाका बीच हामीले चुनाव जित्यौं । हामीले चुनाव मात्र जितेका छैनौं, यस निर्वाचनबाट राजनीति र जनताको मन दुबै जित्यौं ।’
अनि, अध्यक्ष ओलीलाई म्यान अफ दि इलेक्सन घोषणा गर्दै सम्मान गरेको छ । झापा ५ बाट निर्वाचित ओलीले ५२ हजार ३१९ मत पाएका थिए, जुन यो निर्वाचनमा कुनै पनि उम्मेदवारले पाएको सबभन्दा धेरै मत हो ।
यो मत २०७४ मा ओली आफैंले पाएको जति भने होइन । त्यो बेला ओली ५७ हजार १३९ मतका साथ प्रतिनिधिसभा सदस्य चुनिएका थिए, उनका प्रतिस्पर्धी पनि कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी नै थिए ।
प्रतिक्रिया 4