
६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा आलोपालोबारे बन्दकोठामा गरिने निर्णय व्यक्तिगत हुने बताएका छन् ।
थापाले कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । देउवा ६४ मतका सात दलको नेता निर्वाचित हुँदा थापाले २५ मत पाएका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि थापाले पार्टीको निर्णयअनुसार आफ्नो नेतृत्वमा सरकार गठनका लागि संसदीय दलको नेताले पहल गर्ने बताए ।
साथै उनले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय नगर्न सचेत गराएका छन् । ‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ,’ उनले भने, ‘होइन योभन्दा अगाडिका समयहरुमा जस्ता आलोपालो गर्ने बन्द कोठामा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनु हुन्न ।’
‘संसदीय दलको नेताले नै निर्णय गर्ने हो, तर दलको नेताले प्रस्ताव गर्नुहुन्छ, संसदीय दलमा छलफल हुन्छ, पार्टीको सम्बन्धित कमिटीमा छलफल हुन्छ ।’
राष्ट्रपति पदका सन्दर्भमा पनि खुला र पारदर्शी छलफल गरेर मात्र निर्णय गर्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘चाहे आलोपालो होस्, चाहे राष्ट्रपतिका सन्दर्भमा होस्, कांग्रेसको कुनै पनि निर्णय पारदर्शी भएन, सम्बन्धित कमिटीमा छलफल भएन भने व्यक्तिगत निर्णयका रुपमा दर्ज हुन्छ ।’
प्रतिक्रिया 4