
६ पुस, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि रुसलाई जिम्मेवार ठहराउनु उचित नभएको बताएका छन् । उनले यो द्वन्द्व दुवै देश ‘त्रासदीको हिस्सा’ भएको टिप्पणी गरेका हुन् ।
एक वरिष्ठ सैन्य अधिकारीसँगको टेलिभिजन संवादमा उनले युक्रेनलाई आफूले भाइजस्तै सम्झने बताए । उनले यो द्वन्द्वको कारक रुस नभएर तेस्रो मुलुकको नीति रहेको जिकिर गरे । सोभियत विघटनपछि विभाजित राष्ट्रहरूलाई पश्चिमा देशहरूले ‘ब्रेनवास’ गरेको र यसको सुरुवात युक्रेनबाट भएको बताए ।
टेलिभिजन संवादबाट पुटिनको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘वर्षौंसम्म रुसले युक्रेनसँग असल छिमेकी र भाइको रूपमा सम्बन्ध बनाउने प्रयास गर्यो, सस्तोमा ऋण दियौं, तर यसले काम गरेन ।’
‘अहिले जे भइरहेको छ त्यो एक त्रासदी हो, तर यो हाम्रो गल्ती होइन,’ उनले अगाडि थपे ।
पुटिनसँग संवादमा रहेका सैन्य अधिकारीले २०२३ सम्म विशेष सैन्य अपरेशन जारी राख्ने बताए । पुटिनले रुस पैसा खर्च गर्न तयार रहेको र त्यसको कुनै सीमा नभएको बताए ।
प्रतिक्रिया 4