
७ पुस, काठमाडौं । कुख्यात सिरियल किलर चार्ल्स शोभराज अधिकांश तस्वीरहरुमा ‘स्कट क्याप’मा देखिन्छन् । केही दिनअघि सर्वोच्च अदालत उपस्थित हुँदा पनि शोभराजको शिरमा उही चेक टोपी थियो । १९ वर्ष २ महिनाअघि काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ पर्दा पनि उनले उस्तै टोपी लगाएका थिए ।
बिहीबार बिहान पुतलीसडकमा शोभराजकै ‘सिग्नेचर स्टायल’ को टोपी लगाएर आइपुगे गोपाल शिवाकोटी ‘चिन्तन’ । शिवाकोटी तिनै वरिष्ठ अधिवक्ता हुन्, जसले दिएको निवेदनको आधारमा बुधबार सर्वोच्च अदालतले ‘विकिनी किलर’ भनिने शोभराजलाई छाड्न आदेश दिएको छ । उनी भन्छन्, ‘अपराधको कुरा एउटा पाटो होला तर, अदालतको आदेशले उनको मानवअधिकारको सम्मान भएको छ ।’
न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले कारागार नियमावलीमा उल्लेखित असल चालचलन भएका ६५ वर्ष उमेर पुगेका कैदीहरुको हकमा कैद सजाय छोट्याउन सक्ने व्यवस्थालाई आधार बनाउँदै छाड्न आदेश दिएको हो ।
नियमावलीमा ७५ प्रतिशत कैद सजाय सजाय छोट्याउन वा कुनै अंगभंग भइ ओछ्यानमा परेर निको नहुने अवस्थामा पुगेकालाई कम गर्न सक्ने व्यवस्था छ । यो सुविधाका लागि पटकपटक शोभराज अपिल गरिरहेका थिए ।
तर, विदेशी नागरिक भएको भन्दै सधैं विपक्षमा फैसला हुने गरेको थियो । शोभराजले हार मानेका थिएनन् । उनले आफूलाई अन्याय भएको भन्दै संयुक्त राष्ट्र संघको मानव अधिकार समितिसमक्ष समेत अपिल गरिसकेका थिए ।
शोभराज पक्राउ परेदेखि उनको कानूनी पाटो अधिवक्ता शकुन्तला थापाले हेरिरहेकी थिइन् । जेलमै रहेका बेला शोभराजले शकुन्तलाकी छोरी निहितासँग विवाह गरेका थिए । पछि दुवै जनाले शोभराजलाई कानूनी लडाइँमा सघाएका थिए । तर, लामो समयसम्म पनि उनको पक्षमा आदेश नहुँदा दुवै आजित भइसकेका थिए । निहीताले शोभराजलाई भेट्नै छाडिसकेकी थिइन् । शकुन्तला पनि टाढिदै गएकी थिइन् ।
आजभोलि शोभराज केन्द्रीय कारागारको गोलघरभित्र एक्लिँदै गएका थिए । कारागारमा नियमितजसो टेलिभिजन हेर्ने, पढ्ने र लेख्ने उनको दैनिकी थियो ।
जब चिन्तन जेल परे…
कानून व्यवसायी गोपाल शिवाकोटी ‘चिन्तन’ ४ चैत २०७५ मा ठगी आरोपमा केन्द्रीय कारागार पठाइए । त्यहीँ चिन्तन र शोभराजबीच भएको जम्काभेट बिहीबार उनी छुट्ने वातावरण बनाउन सहयोगी बनेको छ ।
‘त्यतिबेला उनले मलाई चिन्ने कुरै भएन, मैले समाचारमा हेरेको सुनेको भएकाले नोटिस गरिरहेको थिएँ’, शिवाकोटी सम्झन्छन्, ‘मलाई त्यतिबेला उनको नाम सुन्दै डर लाग्थ्यो ।’
टेलिफोन गर्न गोलघरबाट निस्किएका बेला उनले शोभराजलाई देखिरहेका हुन्थे । उमेरले जीवनको उत्तरार्द्धतिर ढल्किँदै गरेपनि शोभराज ठाँटिलो भएर बस्थे ।
शिरमा टोपी हम्मेसी छुट्दैन्थ्यो । ‘एकदमै शान्त स्वभाव, केही सोध्दा पनि थोरै बोल्ने, उनलाई सोचेँ भन्दा धेरै भिन्न पाएँ’, शिवाकोटी भन्छन् ।
नजिकबाट हेरिरहे पनि उनले बोल्ने आँट गरेका थिएनन् । तर, जब कोरोना महामारीका बेला शिवाकोटीले कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दिए, त्यसपछि शोभराज आफैंले उनीसँग सम्पर्क गर्ने वातावरण बन्यो ।
न्यायाधीश सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले उनको रिटमाथि आदेश दिँदै कारागारमा कारागारमा नाजुक अवस्थामा रहेका बालबालिका, गर्भवती, दूध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्या भएका कैदीहरुलाई प्राथमिकताको आधारमा सार्वजनिक सुरक्षालाई समेत ध्यान दिएर तत्काल छाड्न, सजाय कम वा छुट गर्ने निर्णय गर्न आदेश दियो ।
‘यो आदेशबारे कारागारमा हल्लाखल्ला भयो, शोभराजले पनि थाहा नपाउने कुरै भएन’, उनी भन्छन्, ‘त्यसपछि उनले मेरो खोजी गरेछन् ।’ कारागारका चौकीदार आइतराम तामाङमार्फत उनले शोभराजको सन्देश पाए ।
‘सुरुमा भेट्न इन्कार गरें, उनले आदेश पढिसकेका रहेछन् र मेरो प्रशंसा गरेछन्’, शिवाकोटीले सुनाए, ‘मैले कागजात तयार गर्न चाहिँ सघाउने तर, म खुलेर जोडिन्न भनेको थिएँ ।’ त्यसबेला शोभराजसँग नाम किन जोड्ने भन्ने लागेको उनी बताउँछन् । भन्छन्, ‘तर, कागज हेरेपछि उनलाई कानूनी सहयोग गर्न मलाई कुनै अफ्ठ्यारो लागेन ।’
जेलमा शोभराज-चिन्तन संवाद
चौकीदारमार्फत शोभराज र उनीबीच केही महिना संवाद भइरह्यो । पछि टेलिफोन गर्न आएकै बेला शोभराजसँग उनको भेट भयो । पहिले नाम सुन्दै डर लागेका व्यक्ति सामुन्नेमा भेट्दा कस्तो लाग्यो ? उनी भन्छन्, ‘कुरा गर्दा त उनी एकदमै भद्र महसुस भयो, अचम्म पनि लाग्यो ।’
पहिलो भेटमै उनले शिवाकोटीको प्रशंसा गरिहाले । हुन त शोभराजको खुबी नै आफूसँग कुरा गर्न आउने जोकोहीलाई भेट्ने वित्तिकै प्रभावमा पार्न सक्नु हो । उनीबारे रिचार्ड नेभिल र जुली क्लार्कले लेखेको पुस्तक ‘लाइफ एण्ड क्राइम्स अफ चार्ल्स शोभराज’ शोभराजले कसैलाई भेट्ने वित्तिकै कसरी आफ्नो नजिक बनाइदिन्थे भन्ने विस्तृत व्याख्या छ ।
उनका अपराधबारे कानून व्यवसायी चिन्तन भन्छन्, ‘उनले यस्ता घटनाहरु गरेका होलान्, तर त्यसो भन्दैमा उनलाई मानवोचित व्यवहार नै हुनुहुँदैन भन्ने होइन ।’ शोभराजलाई आफूले एकपटक बाहिर सुने जस्तो अपराध गरेको हो होइन भनेर सोधेको पनि उनी बताउँछन् ।
जवाफमा शोभराजले नेपालमा आफूलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रको दबाबमा थुनिएको दाबी सुनाएका थिए । त्यति मात्र होइन, उनले त आफूले अमेरिकाविरुद्ध तालिवानसँग नजिक भएर गरेकाले फसाइएको पनि दाबी गरेका थिए ।
शोभराजका एक जना नेपाली नातेदार चाहिँ उनले कसैलाई विश्वासमा लिन जेसुकै भन्ने गरेको दाबी गर्छन् । कानून व्यवसायी शिवाकोटी भन्छन्, ‘जे पनि हुनसक्छ, मैले त्यसबेला सुनेँ मात्रै अरु बोलिन ।’
शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेको बताइन्छ । तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउने गरेको शिवाकोटीको भनाइ छ ।
‘मलाई पूरै फ्रेम गरिएको हो, अरुतिर केही गरें होला । तर भक्तपुरमा म संलग्न थिइनँ’, शोभराजको भनाइ उद्धृत गर्दै उनी भन्छन्, ‘मलाई प्रहरीले सुरुमा नक्कली राहदानी बोकेको भनेर मुद्दा चलाएको थियो, पछि अदालतबाटै गलत साबित भयो ।’
तत्कालीन अनुसन्धान अधिकृतहरु पनि पुराना मिसिल फेला नपर्दा उनलाई हिरासतमा राखिराख्न ‘नक्कली’ मुद्दाको साहरा लिइएको स्वीकार्छन् ।
शोभराजको लक्ष्य- क्षतिपूर्ति दाबी गर्ने, व्यवसायलाई निरन्तरता दिने
शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, प|mान्स, अफगानस्तान, टर्की र गि्रसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले गि्रन कर्नर नोटिस जारी गरेको थियो ।
शिवाकोटीको भनाइमा शोभराजले आफूलाई अनावश्यक रुपमा कुख्यात बनाइएको दाबी गर्ने गरेका छन् । थुनामुक्त भएपछि त्यसविरुद्ध कानूनी लडाइँ गर्ने उनले बताएका छन् । ‘बीबीसीदेखि लिएर अन्य मिडियाहरुले अनावश्यक मेरो चरित्र हत्या गरेका छन्’, शोभराजले भनेका छन्, ‘त्यसविरुद्ध कानूनी लडाइँ गरेर क्षतिपूर्ति दाबी गर्नु नै अब मेरो जीवनको लक्ष्य हो ।’ उनले पुरानो व्यवसायलाई पनि निरन्तरता दिने आफूसँग बताएको शिवाकोटी बताउँछन् ।
शोभराज ‘रत्न व्यापारी’का रुपमा विभिन्न मुलुक जान्थे । त्यही क्रममा उनले ‘हिप्पी’हरुको हत्या गरेर उनीहरुको पहिचानमा अरु मुलुक जाने गरेको शोभराजबारे बनेको नेटफिल्क्स डकुमेन्ट्री ‘द सर्पेट’मा देखाइएको छ ।
नेपालमा पक्राउ पर्नुअघि शोभराज भारतको तिहाड जेलमा कैद सजाय काटिरहेका थिए । तर, आफ्नो जन्मदिनमा आयोजित भोजमा उनले बेहोस हुने औषधि मिसाएर सबैलाई लठ्याएर फरार भएका थिए ।
शोभराजका लागि विश्वमा कुनै यस्ता जेल छैनन्, जुन उनले तोड्न नसकुन् भन्ने किस्सा चर्चित छ । त्यही कारण उच्च अदालत, पाटनले उनलाई गोलघरमा नराख्न आदेश दिँदा पनि नेपाल सरकारले उनलाई जेलभित्रको पनि जेलमा छुट्टै राखिरहेको थियो ।
प्रतिक्रिया 4