
पुस, काठमाडौं । केन्द्रीय कारागारमा १९ वर्ष २ महिना जेल जीवन बिताएका सिरियल किलर चार्ल्स शोभराजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखेको भेटिएको छ ।
शोभराजले आफूलाई अन्याय भएको भन्दै फ्रेन्च कानून व्यवसायी इसाबेल काउन्टेन्ट पिट्रेमार्फत राष्ट्रपति भण्डारीलाई पत्र पठाएको भेटिएको हो ।
अनलाइनखबरलाई प्राप्त पत्रमा शोभराजले आफूलाई नेपालको जेलमा अवैध रुपमा राखिएको बताएका छन् ।
शोभराजको तर्फबाट राष्ट्रपति भण्डारीलाई सम्बोधन गरेर २ जेठ २०७८ मा पठाइएको पत्रमा सन् २००३ मा शोभराज पेरिसस्थित नेपाली कन्सुलेटबाट भिसा प्रमाणीकरण भएर नेपाल आएको भनिएको छ ।
‘अहिले उनी ७७ वर्ष पुगेका छन् र सन् २००३ देखि थुनामा छन्’, पत्रमा भनिएको छ, ‘जेलमा उनको अवस्था एकदमै असामान्य र आश्चर्यजनक छ ।’ शोभराजलाई जेलमा राख्दा मानव अधिकारका न्यूनतम सिद्धान्तहरु पनि पालना नगरिएको पत्रमा भनिएको छ ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार समितिले शोभराजको हकमा नेपालले नागरिक तथा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा १०, १४ र १५ उल्लंघन गरेको भन्दै २७ जुलाई २०१० मा तत्काल पुनर्विचार गर्न भनेको थियो । यसमा स्वास्थ्य उपचारको हक, विना ढिलाइ मुद्दामा सुनुवाइ गर्न पाउने अधिकार जस्ता विषय उल्लेख छन् ।
‘मानवअधिकार समितिले त्यसबेला १८० दिन समय दिएर ती धाराहरुमा उल्लेखित विषय सम्बोधन गर्न भनेको थियो’, पत्रमा भनिएको छ, ‘तर, अहिलेसम्म नेपालले त्यसको सम्बोधन सकेको छैन ।’ जेलमा बस्दा शोभराजको अवस्था झन् बिग्रिएको जिकिर पत्रमा गरिएको थियो ।
पत्रमा नेपालको कानूनले ६५ वर्षमाथिका व्यक्तिको कैद छुट पाउने व्यवस्था गरे पनि शोभराज ७७ वर्ष पुगिसकेको उल्लेख छ । कारागारभित्र शोभराजमाथि खराब परिस्थिति, अवैध र अमानवीय व्यवहार भएको भन्दै पत्रमा भनिएको छ, ‘यसबारे शोभराजले कारागार विभागका निर्देशकलाई म कहिल्यै नछुट्ने भएँ र जेलमै मर्ने भएँ समेत भनेका थिए ।’
पत्रमा शोभराजका लागि पनि कानून लागू हुने व्यवस्था गरिदिन आग्रह गरिएको थियो । तत्काल शोभराजलाई छाड्न आदेश दिन पनि पत्रमा आग्रह गरिएको थियो । उनलाई छाडेर नेपालस्थित फ्रेन्च दूतावासलाई हस्तान्तरण गरिदिन आग्रह गरिएको थियो ।
शोभराज निकटस्थहरुका अनुसार शोभराजले पहिले स्वदेश र विदेशी कानुन व्यवसायीको सहयोगमा पटकपटक थुनामुक्त हुने प्रयास गरिरहेका थिए । उनले कहिले छुट्दैछु भन्ने हल्ला चलाए, कहिले आफूलाई न्यायोचित व्यवहार नभएको भन्दै संयुक्त राष्ट्रसंघसम्म अपिल गरे ।
तर, उनको पक्षमा अदालतबाट आदेश आएको थिएन ।
उनको मुद्दामा पुनर्विचार हुन त परै जाओस्, उच्च अदालत पाटनले उनलाई गोलघरबाट निकालेर अरु सामान्य बन्दीसरह राख्न आदेश दिँदा पनि कार्यान्वयन भएको थिएन । त्यसैले शोभराजले अन्तिम विकल्पका रुपमा आफ्ना कानून व्यवसायीमार्फत राष्ट्रपति भण्डारीलाई पत्र लेख्न लगाएको उनी निकटस्थहरु बताउँछन् ।
उच्च अदालत पाटनले २० असार २०७५ मा पनि शोभराज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र उनलाई तोकिएको कैदमध्ये करिब ७५ प्रतिशत भुक्तान भइसकेको बताउँदै उनको सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु आवश्यक देखिएको भनेको थियो ।
केन्द्रीय कारागारले चाहिँ जेलमा धेरै चाप भएका कारण उनका लागि सामान्य बन्दी सरह राख्न नमिल्ने स्थिति रहेको बताएको थियो । शोभराजको हकमा बन्दीमाथि गरिने व्यवहारसम्बन्धी न्यूनतम मापदण्ड मण्डेला नियम, २०१५ विपरीतको व्यवहार भएको उनी पक्षको जिकिर छ ।
पटकपटक उनलाई छाड्न माग गर्दै रिट पर्ने र खारेज हुने श्रृंखला नै चलिरहेको थियो । शोभराजले अन्तिममा दिएको रिट पनि सर्वोच्च अदालतका कामु मुख्य रजिष्टारले दरपिठ गरिदिएका थिए । तर त्यसविरुद्ध फेरि अर्को मुद्दा उनको तर्फबाट पर्यो ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिट दर्ता गर्न आदेश दिएपछि बल्ल यसपालि उनको मुद्दामा सुनुवाइ अघि बढेको थियो । यसअघि दुईपटक तोकिएको पेशी पनि सरेको थियो । तेस्रो पटकमा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलास*ले उनलाई छाड्न आदेश दिएको छ ।
शोभराजको तर्फबाट राष्ट्रपतिलाई पत्र लेख्ने इसाबेल भेनेजुएलाका आतंकवादी भनिएका कालोर्स ज्याकलकी पत्नी हुन् । कार्लोस अहिले पनि फ्रान्सको जेलमा छन् । उनीमाथि १९७५ मा फ्रेन्च सरकारका सूचकको हत्या र दुई प्रतिआतंवादी एजेन्टको हत्या गरेको आरोप छ । कार्लोस जेलमै भएका बेला उनीमाथि ११ जनाको मृत्यु हुने गरी फ्रान्समा भएको आतंकवादी हमला संलग्न भएको आरोप थियो ।
चर्चित फ्रेन्च कानून व्यवसायी इसाबेलले अलकायदाका फ्रेन्च सदस्य जाकारियस मुस्याउको मुद्दा पनि लडेकी थिइन् । उनी एकपटक फ्रेन्च प्रहरीलाई जर्मनीको खुफिया प्रहरी गेस्टापोसँग तुलना गरेको आरोपमा पक्राउ समेत परेकी थिइन् ।
शोभराज २ असोज २०६० मा काठमाडौंको क्यासिनो रोयलबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेका थिए ।
शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानस्थान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले पनि ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।
उनी भारतको जेलमा पनि १० वर्ष बसेर फरार भएका थिए । कारागार सुरक्षामा खटिएकासहित कैदबन्दीलाई बेहोस हुने औषधि खुवाएर भागेका थिए । शोभराज मोतीको व्यापारीका गर्थे । त्यसक्रममा विभिन्न देश जाँदा मानिसहरुको हत्या गरेर उनीहरुको पहिचानमा डुल्ने गरेको उनीबारे रिचार्ड नेभिल र जुली क्लार्कले लेखेको पुस्तक ‘लाइफ एण्ड क्राइम्स अफ चाल्र्स शोभराज’ मा उल्लेख छ ।
*यसअघि न्यायाधीशको नाम फरक पर्न गएकोमा सच्याइएको छ ।
प्रतिक्रिया 4