+

भद्रपुर झापा गोल्ड कप फागुन अन्तिम सातामा

२०७९ पुष  ७ गते १६:०१ २०७९ पुष ७ गते १६:०१
भद्रपुर झापा गोल्ड कप फागुन अन्तिम सातामा

७ पुस, भद्रपुर । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताए ।

पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति सुरु भइसकेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी सो रंगशालामा दूबो रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।

भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको मेयर गणेश पोखरेलले जानकारी दिए ।

कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठनबाट स्पोन्सरका रुपमा संकलन गरिने सहकोषाध्यक्ष अजय साहेवालाले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ ।

प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताए । ढकालका अनुसार भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थीलाई खेल हेर्न टिकट लाग्ने छैन ।

त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिए ।

भद्रपुर झापा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय