
७ पुस, काठमाडौं । पोखरामा सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्याण्डिलिङ (भूमिस्थ प्रवन्ध) सेवा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले प्रदान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत ग्राउन्ड ह्याण्डिलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सले दुई वर्ष अगाडि पाएको अनुमति समेत रद्द गरेको छ । र, पूर्ण अधिकार नेपाल वायुसेवा निगमलाई जिम्मा दिएको छ ।
प्राधिकरणले यो निर्णयबाट राष्ट्रिय ध्वजाबाहकको पक्षमा ठूलो सहयोग पुग्ने बताएको छ । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको ४ पुसको निर्णयअनुसार हिमालयले पाएको सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा रद्द गर्ने निर्णय भएको हो ।
अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गरी तीनवटै विमानस्थलमा तत्कालका लागि नेपाल एयरलाइन्सले यस्तो सेवा दिने भएको छ । जसमा यात्रु र ब्यागेज व्यवस्थापन तथा सरसफाइसहितको विस्तृत जिम्मेवारी समेटिएको छ ।
वायुयानहरुको भूमिस्थ प्रवन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ४ बमोजिम साताको ३५ वटा भन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ हृयान्डलिङ गर्न पाउने नियम अनुसार ४ असोज २०७७ मा हिमालय एयरलाइन्सले यो अनुमति पाएको थियो ।
निर्देशिका बमोजिम अनुमति पाएको १ वर्षभित्र ग्राउण्ड इक्युपमेन्ट खरिद गरी सेवा सूचारु गर्नुपर्नेमा हिमालयले सो नगरेपछि उसको अनुमति रद्द गर्ने निर्णय भएको प्राधिकरणले उल्लेख गरेको छ ।
प्राधिकरणको वर्तमान आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै राष्ट्रिय ध्वाजाबाहकलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व भएको भन्दै हिमालयको अनुमति खारेज गरी सबै सेवा निगमको पक्षमा दिएको प्राधिकरणको भनाइ छ ।
हिमालयले सेल्फ ह्यान्डलिङको अनुमति दिँदा निगमको २० प्रतिशत आम्दानी गुम्ने खतरा रहेको भन्दै प्राधिकरणले पछिल्लो निर्णयले निगमको साविक आम्दानी प्रभावित नहुने अवस्था बनेको बताएको छ ।
प्रतिक्रिया 4