
७ पुस, काठमाडौं । ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै अलग भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै २ वर्षसम्म राम्रो सम्बन्ध रहेन । संसदमा होस् वा सार्वजनिक मञ्चहरुमा पनि उनीहरु दुवैले एकअर्काको चर्को आलोचना गरे ।
तर प्रतिनिधिसभा निर्वाचनसँगै दुई नेताको सामिप्य बढ्दो छ, जुन दुबैले लुकाएका छैनन् ।
बिहीबार प्रतिनिधिसभा सदस्यको शपथपछि चियापानका क्रममा पनि दुई नेता एकै ठाउँमा बसे । एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना दायाँतिर बसे । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बायाँतिर बसे । माओवादी अध्यक्ष प्रचण्डले ओली बसेकै सोफा रोजे ।
ओली कहिले प्रधानमन्त्री देउवासँग गफिए त कहिले प्रचण्डसँग । ओली र प्रचण्डबीच अलि बढी सम्वाद भयो । दुई नेता बेलाबेला मुसुक्क हाँसेको समेत देखिन्थ्यो ।
बुधबार राष्ट्रपति कार्यालयमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाको शपथ पनि यस्तै दृृश्य देखिएको थियो । पूर्व प्रधानमन्त्रीहरुको लहरमा दायाँबाट क्रमशः झलनाथ खनाल, प्रचण्ड र ओली बसे । त्यस क्रममा ओलीले दुबैसँग सम्वाद गरे ।
यस्ता समारोहहरुमा पूर्व प्रधानमन्त्रीहरु एकै ठाउँमा बस्नु र सामान्य सम्वाद हुनु स्वभाविक हो । तर यसलाई अहिलेको राजनीतिक परिस्थितिसँग पनि जोडेर हेर्न सकिने नेताहरु बताउँछन् ।
‘सरकार गठनका लागि सबैसँग सम्वाद भइरहेको छ । केपीजीसँग हिजो शितल निवासमा र आज संसदमा कुराकानी भएको तपाईंहरुले देख्नुभएकै छ’, माओवादीका एक पदाधिकारी भन्छन् ।
शपथलगत्तै बसेको पार्टी पदाधिकारी बैठकमा प्रचण्ड स्वयंले कांग्रेससँगै एमालेसँग संवाद भइरहेको बताएका थिए । एमाले नेताहरुले सहकार्यको प्रस्ताव राखेको, तर गठबन्धनमै सहमति जुट्ने सम्भावना रहेको उनको ब्रिफिङ थियो ।
बिहीबार नै एमालेले विशेष पहल गर्ने निर्णय गरेको सुनाउँदै माओवादीका एक पदाधिकारी भन्छन्, ‘ओलीजीले कांग्रेससँग मिलेर हामीलाई पनि फाइदा छैन, तपाईहरुलाई पनि फाइदा छैन भन्नुभएको छ ।’
एमालेका एक पदाधिकारीका अनुसार पार्टी सचिवालयको बैठकमा अध्यक्ष ओलीले गठबन्धन छाडेर आएर प्रचण्डसँग सहकार्य हुनसक्ने संकेत गरेका थिए । कांग्रेस, माओवादी लगायतका सबै दलसँग संवाद भइरहेको भन्दै ओलीले भनेका थिए, ‘सरकार गठनमा हतार गर्नुपर्ने छैन । गठबन्धनमा गडबडी आयो भने कसरी जाने भनेर निर्णय गरौंला । सम्वादलाई चाहिँ तीव्रता दिन जरुरी छ ।’
आफ्नो नेतृत्वमा सरकार गठन गर्न एमाले नेताहरु सकारात्मक देखिएपछि माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने मुडमा छन् । ‘कांग्रेसले सरकार चलाइसक्यो, अब हामीले नेतृत्व पाउनुपर्छ भन्ने छ’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘हामी गठबन्धनमा रहने कि नरहने आजै टुंगो लाग्ने सम्भावना छ ।’
पदाधिकारी बैठकलगत्तै प्रचण्डले संसदीय दलको बैठक राखे, सर्वसम्मत संसदीय दलको नेता चुनिए । लगत्तै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार पुगे । दुई नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु पनि थपिएका छन् ।
कांग्रेससँग माओवादी केन्द्र र एकीकृत समाजवादीको कुरा नमिले एमालेसँग सहकार्यमा प्रचण्डसँगै नेपाल पनि थपिन सक्ने सम्भावना औंल्याए एक नेताले ।
‘ओलीजीले कुराकानीका क्रममा एकीकृत समाजवादीलाई बल्ल पार्टीका रुपमा स्वीकार गरेको, अनि कुराकानी गर्न खुला रहेको जनाउ दिनुभएको छ’, ती नेताले भने, ‘कुनै पनि बेला आइसब्रेक हुन सक्छ ।’
प्रतिक्रिया 4