
८ पुस, काठमाडौं । जन्मकैदको सजाय पाएर थुनामा रहेका चार्ल्स शोभराधलाई सर्वोच्च अदालतले बुधबार थुनामुक्त गर्ने आदेश दियो ।
अदालतबाट थुनामुक्त गर्ने आदेश आए लगत्तै उनले केही दिन नेपालमै बस्न चाहेको बताएर त्यसको वातावरण बनाउन कारागार प्रशासनलाई आग्रह गरे ।
अदालतले पनि उनलाई १५ दिन भित्र स्वदेश फर्काउन आदेश दिएको थियो ।
त्यसैले शोभराजले केही दिन हायत होटलमा बस्ने, सहयोगी र केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारसित कुरा गर्ने योजना बनाएका थिए । जुन उनले कारागार प्रशासनमा सुनाएका थिए ।
तर उनको त्यो आग्रह विपरीत अध्यागन विभागले शुक्रबार नै उनलाई फ्रान्स डिपोर्ट गरेको छ ।
बिहीबार बेलुकी नै उनलाई अध्यागमन विभाग उपस्थित गराउने तयारी भए पनि ठाउँ नभएको भन्दै कारागारमै राखियो र शुक्रबार मात्र विभागमा लगियो ।
तर विभागले उनको इच्छा अनुसार नेपालमा बस्न नदिने निर्णय गरेर डिपोर्ट गर्यो ।
सुरक्षाको कारण देखाउँदै उनलाई कसैको जिम्मा जमानीमा नेपालमै छाड्न अध्यगमनले मानेन ।
उल्टै ५० हजार रुपैयाँ जरिवाना र १० वर्षसम्म नेपाल प्रवेश निषेध गरी फ्रान्स पठाइयो ।
विभागकी निर्देशक प्रदर्शनी कुमारीले भनिन्, ‘अध्यागमन ऐन अनुसार जरिवाना गरेपछि उनलाई डिपोर्ट गरेका छौं ।’
अध्यागमनले डिपोर्ट गरेपछि नेपाल बस्ने चाहना पूरा नभए पनि शोभराजको अर्को चाहना भने प्रहरी र प्रशासनले पूरा गरिदिएको छ ।
त्यो चाहना हो- पत्रकारलाई फोटो भिडियो खिच्न नदिने ।
शोभराजले प्रशासनलाई कुनै पनि पत्ररकालाई फोटो भिडियो खिच्न नदिन र आफूलाई भेट्न नदिन आग्रह गरेका थिए ।
उनकै आग्रह अनुसार निक्कै कडा सुरक्षाबीच कारागारबाट अध्यागमन कार्यालयमा र त्यहाँबाट विमानस्थलसम्म लगेको प्रहरी श्रोतले जनाएको छ ।
जसका कारण पत्रकारले शोभराजको अनुहार देखिने गरी फोटो र भिडियो खिच्न पाएनन् र शोभराजको एउटा चाहना पूरा भयो ।
प्रतिक्रिया 4