+
+

आत्मविश्वासले बनायो अब्बल

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष ९ गते १८:१७

९ पुस, पोखरा । उनको झ्यालबाट गुम्बा देखिन्थ्यो । गुम्बासँगै फरफराइरहने लुङ्दर पनि देखिन्थ्यो । साथीहरु उनको आँगन हुँदै पाठशाला जान्थे । तर, उनीसँग ओछ्यानमा पल्टिएर निर्निमेष नियाल्नुबाहेक अर्को उपाय हुन्थेन ।

यो कथा अमीर बोम्जनको हो, जो जन्मजात घाँटीभन्दामुनिको भाग कहिल्यै चलेन । र, सधैं उनले आफूलाई एक्लो पाए, एकान्तमा पाए ।

अमीरले हार मानेनन् । आफूलाई दुखीमात्रै बनाइराखेनन् । उनले आफ्नो एक्लोपनलाई नै साथी बनाए । एकान्तसँगै मित्रता गाँसे, झ्यालबाट देखिने दृश्यहरुसँगै बातचित गर्न थाले ।

‘जब एक्लो थियो, एकान्त थियो । साथी खोज्दा साथी भेटिँदैन थियो । केवल सुनसानमात्रै थियो । र, त्यो सुनसानभित्र पनि कतै आवाज आएकोजस्तो । बतासले बोलाएजस्तो, रुखका पातले बोलाएजस्तो महसुस हुन्थ्यो’ अमीर सुनिए, ‘त्यही एकान्तमा आफ्नो लयसँग, आफ्नो गीतसँग रमाउन थालें । आफ्नो एक्लोपनलाई भुलाउन कोशिस गरिरहें ।’

आफ्नो एक्लोपन सन्नाटालाई चिर्न गीत गुन्गुनाउन थालेका उनै अमीरले आज गाएका छन्, प्रकृतिसँग वार्तालाप गर्न रङ समातेका उनी अन्तर्राष्ट्रियस्तरमै सम्मानित कलाकार छन् ।

‘चाहना थियो या थिएन, आफ्नो एक्लोपन भुलाउन कोशिस गरिरहेँ । साथीहरु सबै स्कुल जान्थे । तर, मेरो अवस्थाका कारण स्कुल जान सकिनँ,’ अमीर भन्छन्, ‘तर, प्रकृतिलाई साथी बनाएर गीत गाउने लय हाल्ने भएर गीत गाउने भएको हुँ, चित्र बनाउने भएको हुँ ।’

पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन ‘फरक अब्बल’ विषयक सत्रमा अमीरले आफूमा शारीरिक फरकपना भएकै कारण भोग्नुपरेको पीडा पोखे । गरेको हिम्मत सुनाए, सफलता बाँडे । बोम्जन ओंठले गीत गाउँछन्, ओंठले नै कुची च्याप्दै क्यानभासमा चित्र उतार्छन् ।

आफूले सधैं देख्ने गरेको तर, कहिल्यै टेक्न नपाएको घर नजिकैको गुम्बाबाट आफूले कलायात्रा सुरु गरेको बोम्जन सुनाउँछन् । ‘मेरै घरबाट हेरिराखेको गुम्बा थियो । त्यो गुम्बामा पुग्न मन लाग्थ्यो, आफ्नो कुरा सुनाउन मन लाग्थ्यो’, उनले भने, ‘टाढाबाट भगवानले मेरो कुरा सुनेन भन्ने लाग्यो । अचानक गुम्बाकै स्केच बनाइसकेको रैछु ।’

बोम्जनले घर नजिकै माथिको अनिता लामा ‘दिदी’बाट अक्षर सिक्ने मौका पाएको सुनाए । त्यहीबेल सिकको अक्षरले नै आज आफूलाई यो स्थानसम्म उभ्याउन पाएको बताए ।

‘चित्र गर्दा कति रमाइलो लाग्थ्यो, मनको पीडा चोट, भोगाइ आउँथ्यो । पीर आउँथ्यो । तर, बाहिर ल्याउन सकेको थिएन । तर, पछि भूकम्प (२०७२) आयो । त्यतिबेला मैले आफूमा पनि केही कला छ है भन्ने जान्ने मौका पाएँ,’ उनले भने, ‘गिलासमा पानी भएर पनि फैलिन पाएको छैन भन्ने लाग्यो । भूकम्प आएर गिलासलाई लडाइदियो र पानी जताततै फैलियो ।’

बोम्जनले आफ्नो कलामा भावना र प्रकृतिको संयोजन नै धेरै प्रयोग हुने बताए । सानैदेखि सधैं आफू एक्लै बस्नुपर्दा आफ्नो पेन्टिङमा पनि त्यही भाव भल्कने उनको भनाइ थियो ।

‘आमा काममै, बुवा बाहिर । भाइ पढ्न जान्थ्यो । मसँग हुन्थ्यो त केवल भित्ता, यही वरिपरिको प्रकृति हो,’ उनले भने, ‘त्यसैलाई मैले साथी बनाए, मित्रता गाँसे । यही प्रकृतिलाई प्रेम गरेरै पेन्टिङमा यही देख्न पाएको हो ।’

पत्रकार गजेन्द्र बुढाथोकीले सहजीकरण गरेको उक्त सेसनमा बोम्जनसँगै सुजल बम र नीलम ढुंगाना पनि सहभागी थिए । नीलम ढुंगानाले दुर्घटनापश्चात एउटा खुट्टा गुमाएकी प्रख्यात नृत्यांगना हुन् भने सुजल जन्मजात बोलाइ र सुनाइसम्बन्धी अपांगता भए पनि त्यसलाई चिर्दै कलाकारका रुपमा आफूलाई उभ्याएकी छन् ।

पछिल्लो समय चर्चामा आएको सामाजिक सञ्जाल ‘टिकटक’लाई प्रयोग गर्दै बम कलाकारितामा प्रवेश गरेकी हुन् । सत्रमा बमलाई अनुवादक रश्मी निरौलाले सहयोग गरेकी थिइन् । उनले अहिले ‘लिपसिङ’कै आधारमा थुप्रै म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकेकी छन् ।

सुदूरपश्चिमको डोटीबाट काठमाडौं आएर संघर्ष गरेकी बमले आफू बहिरा भएकै कारण थुप्रै ठाउँमा समस्या भोग्नु परेको सुनाइन् । मिस एसईई २०१९ मा भाग लिएर चौथो स्थान ल्याएकी उनी त्यतिबेला दोभाषे नहुँदा पनि आफूले हिम्मत गरेर उक्त प्रतियोगितामा भाग लिएको बताइन् ।

‘१० कक्षापछि मिस एसईईमा भाग लिएकी थिएँ । त्यसमा पनि दोभाषेको व्यवस्था थिएन । दोभाषे नहुँदा धेरै समस्या भोग्नुपर्‍यो,’ बम सुनाउँछिन्, ‘तर, जे गरेँ आफ्नै बलबुताले गरेंँ । साथ बाबाको पनि रह्यो ।’

डोटीबाट सुरुमा धनगढी आएको तर, बहिरालाई पढ्ने व्यवस्था नभएकै कारण पछि सिन्धुपाल्चोक गएको बमले सुनाइन् । त्यसपछि उनी काठमाडौं आए । काठमाडौं नक्सालमा बहिरा स्कुलबाट उनले २ कक्षादेखि एसईईसम्मको पढाइ पूरा गरेकी थिइन् ।

‘होस्टल बसेर पढेको हुँ । होस्टेल कति फोहोर थियो, कुनै व्यवस्थित नै थिएन । खेल्ने साथी पनि थिएन, खाली त्यो सांकेतिक भाषा सिक्नका लागिमात्रै थियो’, सुजलले भनिन् । तर, त्यहाँ उनले आफूले केटा साथीहरु नाचेको देखेरै नाच्न सिकेको खुसी हुँदै सुनाइन् ।

साथीहरुको सिको गर्दै नाच्न सिक्दासिक्दै कोरोना महामारीले कक्षा रोकियो । त्यसपछि उनले आफूलाई भुलाउन टिकटकमा नाचेको भिडियो पोस्ट््याउन थालिन् । गीत नसुने पनि ओंठको चालका आधारमा आफ्नो नृत्य चाल पहिल्याउन थालिन् । ‘सुरुमा नाच सिक्छु भन्दा पनि बहिरा भनेर कसैले सहयोग गरेन । तर, कोरोनाका बेला टिकटकमा नृत्य गर्दै भिडियो हाल्न थालें । धेरैले मन पराइदिनुभयो’, उनले भनिन् ।

कलाकार सुजल बम आफूहरुलाई बहिराको साटो लाटा भनिदिँदा दुख लाग्ने गरेको दुखेसो पोखिन् । आफूहरुको पनि भावना हुने भएकाले त्यसलाई सम्मान गरिदिन उनले आग्रह गरिन् ।

उस्तै कथा छ, नीलम ढुंगानाको पनि । ०६४ मा भएको दुर्घटनामा एउटा खुट्टा गुमाएपछि ३, ४ वर्ष कोठा नै संसार बन्यो । बाहिर जाने नाममा टाढा भनेको कलेज पुग्थिन्, र फेरि त्यही चारभित्ते कोठा ।

दुर्घटना हुनुअघि राम्रो नृत्य गर्दै आएकी ढुंगानालाई दुर्घटनापछि भने त्यो ‘प्यासन’ करिबकरिब पनि बिरानो भइसकेको थियो । उनले म पनि केही गर्न सक्छु, केही बन्न सक्छु भन्ने आत्मविश्वास नै गुमाइसकेको सुनाउँछिन् ।

‘म अरुभन्दा फरक देखिन्छु भनेर नृत्य गरेको पनि होइन । दुर्घटनापछि मलाई आत्मविश्वास पनि थिएन । यरसरी बोल्न पनि सक्दिनँ थिएँ । कहीं कन्फिडेन्स थिएन, सेल्फडाउट थियो,’ ढुंगाना सुनाउँछिन्, ‘तर, जुन चिजसँग प्यासिनेट भइन्छ, कहीं न कहींबाट डोर्‍याएर ल्याउने रहेछ ।’

२०१३ ताका अपांगतासम्बन्धी कार्यक्रममा लाग्न सुरु गर्दासमेत ‘आफ्नै बिजोग देखाएर किन नाच्ने’ भन्ने लाग्ने गरेको ढुंगानाको अनुभव छ । ‘सायद ममा पनि चेतना थिए । डर, लाज मलाई पनि लाग्थ्यो,’ उनले भनिन्, ‘कसैले केही भन्ने हुन् कि मन नपराइदिने हुन् कि भन्ने लाग्थ्यो ।’

तर, अहिले आफ्नै प्रस्तुतिले दर्शकको सोच बदल्न सकेकोमा भने उनी खुसी छिन् । पहिले अपांगता भएका व्यक्तिहरुको कुरा काट्नेहरु पनि आफूहरुको सफलतामा खुसी हुन थालेको उनको अनुभव छ । ‘पर्फमेन्स अघि र पछि व्यवहार फरक हुन्छ । काहीं न काहीं उहाँहरुको सोच बदल्न सकेको रैछु नि भन्ने हुन्छ’, उनले भनिन् ।

ढुंगानाले अपांगता भएका व्यक्तिहरुलाई अवसर सपांग व्यक्तिले नै दिनुपर्ने धारणा राखिन् । अपांगता भएका व्यक्तिहरु पनि अवसरकै खोजीमा हुने भएकाले त्यसमा व्यक्ति, समाज र राज्य सबै उत्तिकै जिम्मेवार हुनुपर्ने सुझाइन् ।

‘अवसर दिने अपांगता नभएकाले नै दिने रहेछ । जिम्मेवारीचाहिँ व्यक्ति, समाज र राज्य सबैको हुँदो रहेछ,’ उनले भनिन्, ‘जब हाम्रा मुद्दाहरु स्वीकारिन्छन्, तबमात्रै हाम्रो सम्मान हुन्छ । नत्र त विभेद कहाँ हुँदैन ? त्यसको पनि आफैं विरोध गर्न सक्नुपर्छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?