
९ पुस, पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर । उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो ।
उनले हम दोनो दो प्रेमी दुनिया छोड चले, मोहनी लाग्ला है जस्ता चर्चित गीतको धुन मादलमा घन्काए । वर्षौंपछि नेपाली स्रोतामाझ मादल बजाउने क्रममा उनका आँखासमेत रसाएका थिए ।
पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा शनिबार उनले भने, ‘धेरै वर्षपछि यसरी नेपाली बोल्ने मौका पाएँ । कत्ति वर्षदेखि नेपाली बोल्ने यस्तो मौका पाएको थिइनँ । बम्बैमा त घरबाट निस्केपछि अंग्रेजी बोल्नुपर्यो । कि मराठी बोल्नुपर्यो । कि गुजराती कि हिन्दी बोल्नुपर्यो ।’
गजमेरको यो सेसन उनका चर्चित गीतहरुको सन्दर्भ वरिपरि केन्द्रित रह्यो । र, ती गीतहरु स्टेजमा गायक उज्वल सागरले गाए पनि ।
एकसेएक उत्कृष्ट गीतका संगीतकार रञ्जितले आफ्नो कुनै एक मात्र नेपाली गीत छान्नुप¥यो भने छान्ने गीत हो, झझल्को लिएर आएछ सावन ।
आशा भोसलेको स्वरमा सजिएको यो गीतको सन्दर्भ बताउँदै गजमेरले भने, ‘नेपाली पिक्चरमा नेपाली गायिकाले नै गायो भने राम्रो हुन्छ भन्ने कुरा आयो । तुलसी घिमिरे, मेरी श्रीमती र मैले सोच्दाखेरि काठमाडौंबाट तारादेवी वा दार्जिलिङबाट अरुणा लामालाई बोलाउनुप¥यो । उहाँहरुको प्लेन खर्च, होटल यो सबै हाम्रो बजेटले भ्याएन, मेरी श्रीमतीले एक पल्टलाई आशा भोसलेलाई भनम् भनिन् । आरडी बर्मनलाई यो कुरा भन्दा आफैं आशालाई भन भन्नुभयो । मैले आशा दिदीलाई भन्दा दिदी एकदम खुसी भयो ।’
बाँसुरी फिल्मकै मिर्मिरे साँझमा सिमसिमे पानी गीत पनि त्यो गीतसँगै रेकर्ड भएको उनले बताए । उनले खर्च जोगाउन दुबै गीत एकै दिन रेकर्ड गरिएको जानकारी दिए ।
मिर्मिरे साँझ उदितनारायण झाको पहिलो गीत भएको पनि उनले बताए । उनले भने, ‘उहाँले मुम्बईमा माइक समातेर गाएको पहिलो गीत पनि यही हो ।’
नेपाली गीतको चर्चाको सिलसिलामा हम दोनो दो प्रेमी गीतको चर्चा पनि आइहाल्यो ।
उनले आफ्ना गुरुजी अर्थात् बोस आरडी बर्मनले नेपाली शैलीको गाना मागेपछि यही गीतको धुन मादल बजाएर सुनाएको स्मरण गरे । उनले भने, ‘यो गीत रेलमा छायांकन हुन्छ । गीतमा मादल मादल तिमी मात्र बजाउनू अरु रिदम चाहिन्न । गितार हुन्छ अनि अनि रेलको छुकछुक आवाज पनि चाहिन्छ ।’
रेलको छुकछुक आवाजको कथा पनि भनिहाले, ‘हामी रंग लगाउँदा साइन पेपर लाउँछौं नि त्यो साइन पेपर च्यातेर मेरो एक साथीलाई छिकछिक गर्ने आवाज निकाल्न लगाइयो । मनोहरि सिंह दाइले बाँसुरी बजाउनुभयो । लता मंगेशकर र किशोरकुमारले गाएको गीतमा जितन अमान र राजेश खन्नाले अभिनय गरे ।’
प्रतिक्रिया 4