
१० पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदको सबभन्दा ठूलो दल कांग्रेस सरकार गठनको अग्रसता लिन कांग्रेस असफल भएपछि आफूहरुले पहल लिनु परेको बताएका छन् ।
एमाले र माओवादीसहितका दलहरुबीच प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको छ । दलहरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन दाबी गर्दै राष्ट्रपति कार्यालय हिँडेका छन् ।
राष्ट्रपति कार्यालय जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘निर्वाचनले कांग्रेसलाई पहिलो दलका रुपमा निर्वाचित गरे पनि ७६(२) अन्र्तगत सरकार गठनका लागि अग्रसरता, पहलकदमी र निष्कर्षमा पुर्याउने काम गर्न नसकेपछि दोस्रो ठूलो दल एमालेले पहल गर्नुपर्ने नैतिक बाध्यता आइलाग्यो ।’
७६(२) अन्तर्गत सरकार गठन नहुँदा उपधारा (३) अनुसार एउटा दल विशेषको सरकार बन्ने र यो जनादेश विपरीत हुने भएकाले आफूहरुले पहल लिएको उनले बताए ।
उनले भनेका छन्, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा उपधारा (२) अन्तर्गत सरकार गठनका लागि सम्म्माननीय राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्ने सहमति भएको छ ।’
उनका अनुसार प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी गरेर कुल १६६ सांसदका समर्थन हुनेछ ।
एजेण्डामा आधारित सरकार गठन गर्ने सहमति गरेको भन्दै उनले समग्र विषयमा छलफल गर्ने बताए ।
प्रतिक्रिया 4