+
+

आइतबारको ९ घण्टाः देउवाबाट छुटेका प्रचण्डलाई ओलीको साथ

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ पुष १० गते २१:२९

१० पुस, काठमाडौं । शनिबार साँझ साढे ७ बजे सत्तारुढ गठबन्धनको बैठक सकेर प्रधानमन्त्री निवास बालुवाटारबाट निस्कँदै गर्दा कांग्रेस नेता सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भनेका थिए, ‘प्रधानमन्त्री पहिले को हुने भन्ने विषय गौण हो । भोलिसम्म सत्ता गठबन्धनकै सरकार बन्छ ।’

गठबन्धनको बैठक बिहान १० बजेलाई राखिएको थियो । तर, आइतबारको राजनीतिक खेल कार्कीले भने जस्तो गरी अगाडि बढेन । आइतबार बिहान ८ बजेपछिका राजनीतिक घटनाक्रमपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने तर मिलेर चुनाव लडेको दल नेपाली कांग्रेस नभई नेकपा एमालेको सहयोगमा ।

दिनभरमा के के भयो ?

बिहान ८  बजेः सत्तारुढ गठबन्धनको बैठक १० बजे बोलाइए पनि कांग्रेस नेताहरु ८ बजेदेखि नै अनौपचारिक छलफलमा जुटेका थिए ।

बिहान ८: ३० बजे: प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रको पदाधिकारीहरुको बैठक बस्यो ।  बैठक चलिरहँदा कांग्रेस नेता विमलेन्द्र निधि सभापति शेरबहादुर देउवाको सन्देश लिएर प्रचण्ड भेट्न खुमलटार आइपुगे । उनले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद लिने भन्दै प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री लिन प्रस्ताव गरे ।

त्यसपछि महासचिव देव गुरुङलाई लिएर प्रचण्ड बालुवाटार गए । नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, अग्नि सापकोटा र कृष्णबहादुर महराले एमालेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेललगायतसँग संवाद सुरु गरे ।

बिहान ९ बजे:  कांग्रेस नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की सहितका नेतालाई प्रचण्ड र ओलीसँगको भेटबारे ब्रिफिङ गरे ।

बिहान ९: २५ बजे:  बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरु छलफलमा बसे । प्रधानमन्त्रीको पहिलो कार्यकाल कांग्रेसले नै लिनुपर्ने अडान ।

बिहान १० बजे:  शेरबहादुर देउवा र प्रचण्डबीच छुट्टै छलफल सुरु । दुई नेताबीच करिब आधा घण्टा छुट्टै छलफल चलेपछि माधव नेपालको प्रवेश । तीन नेताबीच करिब २० मिनेट छलफल ।

१०:३० बजे:  झलनाथ खनालसहित गठबन्धनमा रहेका अरु दलका नेताहरु पनि बालुवाटारमा उपस्थित ।

बिहान ११ बजे:  बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु । गठबन्धनको बैठक रोकेर देउवा र प्रचण्ड, प्रचण्ड र माधव, माधव र देउवाबीच पटक-पटक छुट्टाछुट्टै छलफल । पहिले को प्रधानमन्त्री बन्ने भन्ने विषयमा विवाद । देउवा र प्रचण्डको आफैं पहिले प्रधानमन्त्री हुनुपर्ने अडान । माधव नेपालको पनि प्रचण्डलाई पहिले प्रधानमन्त्री दिनुपर्ने राय ।

कांग्रेस नेताहरु विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का लगायतका नेताहरुद्वारा निरन्तर देउवालाई पहिले प्रधानमन्त्रीको अडान नछाड्न सुझाव ।

दिउँसो १२:३० बजे:  पार्टीभित्र दबाव परेको भन्दै देउवाका तर्फबाट निधिले प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउन नसकिने आशय गठबन्धनको बैठकमा प्रस्तुत ।

दिउँसो १:१५ बजे :  प्रचण्ड बालुवाटारबाट बाहिरिए । ओली निवास बालकोट जान भनेर हिंडेका प्रचण्ड आफ्नै निवास खुमलटार प्रवेश । दिउँसो १२ बजे वरिपरि नै माओवादी महासचिव देव गुरुङ ओली निवास बालकोटमा ।

१:३७ बजे:  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट प्रवेश ।

१:५५ बजे: रास्वपा सभापति रवि लामिछाने बालकोट प्रवेश ।

२ बजे:  जसपाका संघीय परिषद अध्यक्ष अशोक राई बालकोट प्रवेश ।

२:१० बजे: प्रचण्ड बालकोट प्रवेश । बालकोटमा नेताहरुबीच छलफल सुरु । प्रचण्ड बालकोट प्रवेश नगर्दै पार्टीमा छलफल गर्न भन्दै राप्रपा अध्यक्ष लिङ्देन बालकोटबाट बाहिरिए ।

सवा ३ बजेः सीके राउत बालकोट प्रवेश ।

३:२५ बजेः मा निर्णय – प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउने । राष्ट्रपति एमालेले लिने र सभामुखमा आलोपालो गर्ने अनौपचारिक सहमति ।

साढे ४ बजेः १६६ सांसदको समर्थन लिएर प्रचण्ड एमाले-माओवादीलगायतका दलका नेतासहित शीतलनिवास प्रस्थान ।

५ बजे: प्रचण्डद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी प्रस्तुत । केहीबेरपछि प्रचण्ड ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त । राष्ट्रपति कार्यालयद्वारा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय ।

बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्मको यही ९ घण्टाकै बीचमा आम चुनावबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस संघीय सरकारदेखि प्रदेश सरकारसम्म, राष्ट्रपति/उपराष्ट्रपतिदेखि संघीय संसद र प्रदेशका सभामुख/उपसभामुखसम्म गुमाउने स्थितिमा पुगेको छ ।

९ घण्टा अगाडिसम्म प्रधानमन्त्री र राष्ट्रपतिमा अडान राखिरहेको कांग्रेस सभापति देउवा अब प्रमुख प्रतिपक्षी दलको नेता बन्ने निश्चित भएको छ । उता, सत्ता गठबन्धन भत्काएर सरकार बनाउने प्रयास रहेको एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर राष्ट्रपति लिने सहमति गरेको छ ।

सभामुखमा आलोपालो गर्ने सहमति गरेको एमालेले सातवटै प्रदेश सरकारमा गठबन्धनमा रहेका सात दलमध्ये सबैभन्दा ठूलो दलको हैसियतमा हिस्सा लिनेछ

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?