
११ पुस, काठमाडौं । सोमबार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सपथ ग्रहण कार्यक्रम नसकिँदै बाहिरिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि देउवाले उनलाई आफ्नो सिट छाडिदिए, उनलाई बधाई दिए र लगत्तै बाहिरिए ।
देउवा बाहिरिँदा उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण सुरु भएकै थिएन । उनले प्रचण्ड क्याबिनेटका उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई बधाई दिन समेत आवश्यक ठानेनन् ।
शपथ समारोह सुरु हुनअघि प्रचण्ड देउवाको कुर्सी सँगै थियो । तर टेलिभिजनको लाइभ भिडियो हेर्दा उनीहरुबीच कुराकानी भएन । देउवाको ‘बडी ल्वाङ्ग्वेज’ त्यति सहज देखिँदैनथ्यो । उनले आफ्नो मुखाकृति बिगारिरहेका थिए । यद्यपि, आजै नेकपा माओवादी केन्द्रको बैठक चलिरहँदा देउवाले प्रचण्डलाई फोनमार्फत बधाई दिएका थिए ।
शपथ ग्रहण नसकिँदै देउवा राष्ट्रपति भवनबाट बाहिरिएर अधैर्यता देखाएका छन् । एउटा लोकतान्त्रिक पार्टीको ब्रान्ड र विरासतलाई नेतृत्व गरिरहेका देउवाले शपथ ग्रहण समारोहभर बस्ने धैर्यता नदेखाएर कमजोर राजनीतिक संस्कार प्रस्तुत गरेको टिप्पणी भइरहेको छ ।
हुनत यसअघि सर्वोच्च अदालतको आदेशपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यस्तै व्यवहार देखाएका थिए । उनी त देउवाको शपथ समारोहमा राष्ट्रपति भवनमा उपस्थित नै भएका थिएनन् ।
आकस्मिक राजनीतिक बदलाव
सोमबार एकाएक राजनीतिक समीकरण बदलियो । भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैंले लिने पक्षमा देखियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो वचनमा इमान्दार नरहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्किए । बालुवाटार छोडिरहँदा उनले स्पष्ट सन्देश दिएका थिए, ‘अब गठबन्धन तोडियो ।’
प्रचण्डले सोमबार सम्पन्न पार्टीको बैठकमा देउवाले सहमतिको नाममा समय लम्ब्याउने र ठूलो पार्टीको रुपमा सरकारको नेतृत्व दावी गर्ने रणनीति बनाएको ब्रिफिङ गरे । उनको भनाइ थियो, ‘हामीलाई अल्मल्याउने रणनीति थियो, तर हामीले त्यसलाई समयमै थाहा पायौं र नयाँ गठबन्धनको पक्षमा उभियौं ।’
अधिकांश प्रदेश र संघीय सरकारको नेतृत्व पाउने अवस्था अचानक उल्टिएपछि कांग्रेस सभापति देउवालाई आफ्नै पार्टीभित्रबाट आलोचना सुरु भएको छ । ‘भुईंको टिप्न खोज्दा पोल्टाको पनि पोखेको’ भन्दै चौतर्फी आलोचनाको बीचमा प्रचण्डको शपथ ग्रहण समारोहमा उपस्थित देउवाले देखाएको हाउभाउ र असमयमै बहिर्गमनको दृश्य अस्वाभाविक देखिन्थ्यो ।
कम्तीमा देउवाले शपथ ग्रहण समारोहमा उपस्थित भएर राजनीतिक संस्कार देखाउन खोजे, तर त्यहाँको उनको हाउभाउ र छटपटी असामान्य थियो ।
राजनीतिमा जित–हार, सफलता–असफलता स्वाभाविक कुरा हो । लोकतन्त्रमा एउटा पक्षले जित्दा अर्को पक्षले पराजय व्यहोर्नुपर्छ । त्यसैले पराजय पनि लोकतन्त्रको एउटा पक्ष हो । देउवाले आफैं राजनीतिक पहलकदमी गुमाउँदा पैदा भएको अवस्थालाई सहज रूपमा स्वीकार्दै तदनुरुपको व्यवहार प्रदर्शन गर्न चुक्नु दुःखद छ ।
प्रतिक्रिया 4