
काठमाडौं । आन्दोलनरत चलचित्र संघले आफ्ना कतिपय माग पूरा भएपछि चलचित्र विकास बोर्डसँग वार्तामा बस्न तयार भएको छ । संघको केन्द्रीय कार्यालय विशालनगरमा मंगलबार बसेको बैठकले बोर्डसँग वार्ता गर्ने निर्णय गरेको हो ।
‘सेन्सर, नाइट शोजस्ता कतिपय माग पूरा भएपछि हामी बाँकी कुरालाई पनि वार्ताकै माध्यमबाट टुंग्याउन चाहन्छौं,’ संघका गोपाल कायस्थले अनलाइनखबरसँग भने । उक्त वार्तामा विकास शुल्क खारेज गर्नुपर्ने, कोरोनाकालमा सरकारले घोषणा गरेका सहुलियत पाउनुपर्नेलगायत मागबारे छलफल हुने संघले जनाएको छ ।
चलचित्र संघले हल बन्द गर्ने, बोर्डमा ताला लगाउने र अध्यक्ष भुवन केसीसँग वार्ता नगर्नेसहितका कार्यक्रम घोषणा गरेपछि मध्यस्थताको लागि सञ्चार मन्त्रालयले बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाललाई खटाएको थियो ।
चलचित्र संघसंस्थासँग दाहालको सम्बन्ध हार्दिक रहेको बताउँदै उनलाई मध्यस्थतामा अघि सारिएको जानकारी मन्त्रालय स्रोतले दिएको छ ।
यसैबीच, चलचित्र विकास बोर्डको सल्लाहकार समितिमा चलचित्र संघका द्वितीय उपाध्यक्ष गोपाल कायस्थ नियुक्त भएका छन् ।
प्रतिक्रिया 4