१२ पुस, काठमाडाैं । नेपालमा दुई मैत्रीपूर्ण फुटबल खेल्न दोस्रो डिभिजनको स्पेनिस क्लब कासेरेन्यो सीपी टिम मंगलबार विहान नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै आन्तिरक उडानमार्फत यो टिम पोखरा प्रस्थान गरेको छ ।
स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनिस टिमलाई नेपाल ल्याएको हो ।
टिमले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
शान्तिका लागि फुटबल’को नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित यो टिमको नेपाल भ्रमण भएको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी ११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् । टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने बताइएको छ ।
यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।
यसअघि, नेपाल आउन लागेको ५० सदस्यीय स्पेनिस टिमलाई मड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले बिदाई गरेकी थिइन् ।
बिदाईको अवसरमा राजदूत ढकालले टिमको सखुद नेपाल बसाईको कामना गर्दै दुई देशको खेलकुदलाई एक–अर्कासँग जोड्ने प्रयासमा यो पहिलो पाइला हुने विश्वास व्यक्त गरिन् ।
‘नेपाल एउटा शान्तिप्रेमी देश हो । नेपालले सधै विश्वमा शान्तिको सन्देश प्रवाह गर्दै आएको छ । नेपाल सरकार शान्तिका लागि गरिने सबैखाले प्रयासमा सहयोग गर्न सधै तत्पर छ,’ स्पेनिस टिमको बिदाईका क्रममा राजदूत ढकालले भनिन्, ‘ तपाईहरुको यो भ्रमणले नेपाल र स्पेनको सम्बन्धले नयाँ उचाई हासिल गर्नेछ ।’
स्पेनिस नकआउट फुटबल प्रतियाेगिता कोपा डेल रेको अन्तिम ३२ अन्तर्गत ४ जनवरी रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको कासेरेन्योले नेपाल भ्रमणमा हुने दुई खेललाई त्यसको अभ्यासका रुपमा प्रयोग गर्ने योजना बनाएको छ ।
‘क्रिस्मस मनाएर काठमाडौं आएको टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी दिए ।
प्रतिक्रिया 4