
१४ पुस, विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आसक्तिका कारण गठबन्धन टुटेको बताएका छन् ।
बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
‘नेपाली कांग्रेसभित्रको केही कमीकमजोरी हो, सँगसँगै प्रचण्डजीको आसक्ति पनि हो’ उनले भने,‘ गठबन्धनलाई लामोसम्म लैजान हामीले सोचेका थियौं तर त्यो हुनसकेन, दुर्भाग्य भयो ।’
उनले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्नुपर्ने बताए । ‘देशलाई आर्थिक सामाजिक र राजनीतिक हिसाबले स्थिरता देओस्’ डा. शेखरले भने ।
दलको चुनावअघि मिलाउने प्रयास
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताको निर्वाचनअघि डा. शेखर विराटनगर पुगेका हुन् । सहमतिको प्रयास सफल नभएपछि दलको नेता छान्नका लागि शुक्रबार चुनाव हुँदैछ । बिहीबार कोइरालाले सांसदहरुलाई बोलाएर सहमतिको प्रयास गरेका छन्, तर उनको प्रयास सफल भएन ।
कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा पक्षबाट अमृत अर्याल, शेखर पक्षबाट केदार कार्की, कृष्णप्रसाद सिटौला पक्षबाट उद्धव थापा दाबेदार छन् । सिटौला पक्षकै भीम पराजुलीले यसअघि दलको नेतामा दावी गरे पनि उनी पछिल्लो समय मौन छन् ।
कांग्रेसका निर्वाचित सांसदलाई बधाई दिन भन्दै नेता कोइरालाले घरमा बोलाएका थिए ।
प्रतिक्रिया 4