
१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ५० अर्बको रिपो जारी गरेकोमा बैंकहरुले ७२ अर्ब ६५ करोडको बोलकबोल पेश गरेका छन् । राष्ट्र बैंकले भने निष्कासनमा ल्याएको ५० अर्ब रुपैयाँ नै प्रतिस्पर्धी ब्याजदरमा बैंकहरुलाई तरलता उपलब्ध गराएको छ ।
पुस मसान्त नजिकिंदै गर्दा पुनर्कर्जाको अवधि सकिंदै गएको र आयकरको दोस्रो किस्ता भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिएर राजस्वको रुपमा सरकारको सञ्चित कोषमा जाँदा प्रणाली तरलता दबाव हुनसक्ने भएपछि राष्ट्र बैंकले रिपो मार्फत प्रणालीमा तरलता पठाउन लागेको हो । ४५ दिनका लागि उपलब्ध गराउन लागेको उक्त रिपोमा ३२ वटा बैंक तथा वित्तीय संस्थाले १४१ वटा आवेदन दिएका छन् । उक्त रिपोको औसत ब्याजदर ८.०९९८ प्रतिशत कायम भएको छ । अधिकतम ९ प्रतिशत र न्युनतम ७.५४ प्रतिशतसम्म ब्याजदरमा बैंकहरुले बोलकबोल पेश गरेका हुन् ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता न्यून हुँदा केन्द्रीय बैंकले रिपो मार्फत ७ वा १४ दिनसम्मका लागि तरलता पठाउँदै आएको थियो । तर, यसपटक भने केन्द्रीय बैंकले ४५ दिनका लागि रिपो मार्फत प्रणालीमा तरलता पठाउने लागेको हो । चालु आर्थिक वर्ष २०७९/८० लागेपछि मात्रै राष्ट्र बैंकले रिपो मार्फत २ खर्ब २७ अर्ब ७० करोड तरलता पठाएको छ ।
प्रतिक्रिया 4