
काठमाडौं । यस वर्षको ‘पहिचान पुरस्कार’ कविता राईको उपन्यास ‘गुरु’, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वार संकलित पुस्तक ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिहं चेम्जोङको लेखोट’लाई प्रदान गरिने भएको छ ।
शनिबार बेलायतमा बसेको पहिचान पुरस्कार कोषले चार लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पहिचान पुरस्कार प्रत्येक वर्ष प्रदान गरिंदै आएको छ ।
‘गुरु’ उपन्यासकी लेखिका कविता राई पेसाले शिक्षक हुन् । भोजपुर, पाँचधारेमा स्कुलमा अध्यापन गर्ने राईको उक्त उपन्यासमा माओवादी जनयुद्धका बेलाका घटनाक्रमलाई उठाइएको छ । पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुराडाँडासम्मका कथा, परिवेश र पात्र उपन्यासमा प्रस्तुत छन् ।
‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङको लेखोट’ पुस्तकका संकलक तथा अनुवादक अर्जुनबाबु माबोहाङ लिम्बू जातिका संस्कार, संस्कृति र मुन्धुमका अन्वेषक तथा अध्येता हुन् । उनी तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर समेत हुन् । अमित थेवे मिहाङ कवि, पत्रकार तथा सामाजिक अभियन्ता हुन् ।
पुस्तकमा धरानको विजपुरमा कस-कसले राज्य गरे र सेनवंशीहरुको उदय कसरी भयो भन्ने विषय समेटिएको छ ।
तीनै जना स्रष्टालाई आगामी चैत ४ गते भोजपुरको चखियाडाँडामा एक समारोह गरी पुरस्कार हस्तान्तरण गरिने पहिचान पुरस्कार कोषका संस्थापक संयोजक नरेश काङमाङ राईले जानकारी दिए । त्यसअवसरमा मुन्दुम काव्ययात्रा समेत आयोजना गरिने जनाइएको छ ।
प्रतिक्रिया 4