
१४ पुस, काठमाडौं । चीनले ‘शून्य कोभिड’ नीति अन्त्य गरेर यात्रा प्रतिबन्धहरु खुकुलो पार्दै स्थल नाकाहरु पनि खुला राख्न थालेसँगै नेपाली पर्यटन व्यवसायी उत्साहित भएका छन् । अब अंग्रेजी नयाँ वर्ष २०२३ लागेपछि क्रमशः चिनियाँ पर्यटकहरु आउने क्रम र त्यसले पर्यटन क्षेत्र पुर्नउत्थान गर्न सघाउने व्यवसायीहरुको विश्वास छ ।
नेपालमा कोभिड १९ को संक्रमण हुनु अगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए । सो वर्ष भारतीय पछि नेपालमा चिनियाँ पर्यटक सर्वाधिक संख्यामा भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार २ लाख ५४ हजार १५० जना भारतीय पर्याटक भित्रिएको सो वर्ष चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५४३ जना पुगेको थियो ।
तर, २०२२ को ११ महिना (जनवरी-नोभेम्बर)मा चीनबाट ८ हजार २७५ जना मात्रै चिनियाँ पर्यटक भित्रिएका छन् । तर, अब चीनले मंगलबार विदेशबाट आफ्नो देश भित्रिने यात्रुमाथि गरिएका विभिन्न कडा व्यवस्थाहरु हटाउने घोषणा गरेको छ ।
हालसालै चीनले जनवरी ८ देखि यात्रुहरूका लागि क्वारेन्टाइन खारेज गर्ने निर्णय गरेको छ, जबकी मार्च २०२० देखि लगातार चीनमा प्रवेश गर्ने सबैका लागि क्वारेन्टाइन अनिवार्य थियो ।
चीनले झण्डै तीन वर्षसम्म बन्द रहेका अन्य देशका नाकाहरु खोल्न थालेको छ । चीनको अध्यागमन प्राधिकरणले मंगलबार चिनियाँ नागरिकका लागि विदेश यात्रा सहज हुने जनाइसकेको छ । देश भित्रिने यात्रुलाई पीसीआर परीक्षण अनिवार्य गरेपनि चीनमा हुने हवाई उडानमा दैनिक लगाइएको कोटा पनि खारेज गरिंदैछ ।
यसले नेपालको पर्यटनमा समेत उत्साह ल्याउने हिमालयन ग्लेसियर ट्रेकिङका प्रवन्ध निर्देशक सागर पाण्डे बताउँछन् । अब चिनियाँ पर्यटकको यात्रा सहज हुने र लामो समयदेखि देश छाड्न नपाएका चिनियाँ पर्यटकहरु नेपाल आइपुग्ने व्यवसायीहरुको विश्वास छ ।
‘चिनियाँ नागरिकलाई विदेश भ्रमण खुला हुनु नेपालका नागरिक सुखदः समाचार हो,’ उनी भन्छन्, ‘चिनियाँ नागरिक आउनु नै पर्यटनमा बहुआयाममा चहलपहल थपिनु हो ।’
व्यवसायीहरुका अनुसार नेपालमा चिनियाँ पर्यटक एक साथ ठूलो समूहमा आउने गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल -टान)का महासचिव विनोद सापकोटा भन्छन्, ‘एउटा चिनियाँ समूह आयो भने होटेलका धेरै कोठा नै भरिन्छन्, त्यसकारण चिनियाँ पर्यटक आएपछि चहलपहल बढ्छ ।’
अफसिजनका आकर्षक पाहुना
व्यवसायीहरु चिनियाँ पर्यटकलाई अफसिजनका आकर्षक पाहुना मान्छन् । होटेल संघ नेपाल (हान)का कार्यसमिति सदस्य युवराज श्रेष्ठका अनुसार नेपालमा अफसिजन भएका बेला ठूला-ठूला ग्रुपमा चिनियाँ नागरिक आउँछन् ।
यसले अफसिजनमा राम्रो बिजनेस हुन्छन् । ‘यूरोपेली र भारतीय पर्यटकको एक निश्चित सिजन हुन्छ, उनी भन्छन्, ‘नेपाल आउन चिनियाँ नागरिकले सिजन खोज्दैनन्, उनीहरु सकेसम्म अरु पर्यटकको चाप कम हुने सिजनमा आउन रुचाउँछन्, यसले पर्यटन क्षेत्रमा निरन्तर उत्साह रहन्छ ।’
ठूला होटेलमा अहिलेसम्म भने अगि्रम बुकिङ र ‘इन्क्वायरी’ भने नआइसकेको उनले जानकारी दिए । ‘भर्खरै खुलेका कारण पनि कतिपय व्यवस्थाबारे उनीहरु अन्यौलमै होलान,’ श्रेष्ठले भने, ‘अब चिनियाँ पर्यटक आएपछि फेब्रुअरीपछिको सिजन राम्रो हुने अपेक्षा गर्न सकिन्छ ।’
कतिपय देशले अहिले चीनमा महामारी बढेका कारण चिनियाँ नागरिकको आगमनलाई कडाइ गर्ने नीति ल्याएका कारण पनि तत्कालै चिनियाँ नागरिक घुमफिरमा आइहाल्छन् भन्न नसकिने उनले बताए ।
चिनियाँ खर्चालु र सौखिन पर्यटक
संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा चिनियाँ पर्छन् । टानका महासचिव सापकोटाका अनुसार चिनियाँहरु घुमफिरसँगै सपिङमा बढी रमाउँछन् । जसले गर्दा नेपालको स्वदेशी उत्पादनले राम्रो व्यापार पाउँछ ।
‘भारतीय पर्यटकको रुची खानपान र परिकारमा बढी देखिन्छ,’ उनी भन्छन्, ‘चिनियाँ नागरिक गिफ्ट र विषेश सामग्री सपिङमा रमाउँछन् ।’
हानका कार्यसमिति सदस्य श्रेष्ठका अनुसार चीनबाट घुमफिरमा निस्किने धेरैजसो पर्यटक उच्च र मध्यम आय भएकाहरु हुन्छन्, जो सेवा राम्रो भए खर्च गर्न खासै अनाकानी गर्दैनन् ।
व्यवसायीहरुका अनुसार नेपालमा यूरोप र अमेरिकी मुलुकबाट आउने पर्यटक लामो पदयात्रामा जान रुचाउँछन् । तर, अधिकांश चिनियाँ नागरिकमा यस्तो रुची हुँदैन । उनीहरु समूहमा आउँछन् र एक क्षेत्रभित्रका अनेक गतिविधिमा रमाउँछन् ।
पर्यटन व्यवसायी सागर पाण्डेका अनुसार पोखरा पुगेका चिनियाँ नागरिक सो क्षेत्र भित्रका प्याराग्लाइडिङ, जिपलाइन, हट एयर बलुन, बन्जी, बोटिङ सबै गर्न रुचाउँछन् । तर, उनीहरु लामो पदयात्रामा निस्किन भने रुची राख्दैनन् ।
नेपालमा काठमाडौं, पोखरा र चितवन चिनियाँ नागरिकले सबैभन्दा बढी रुचाएका गन्तब्य हुन । काठमाडौं उपत्यकाको सम्पदा क्षेत्रको भ्रमण गर्न उनीहरु बढी आकषिर्त हुन्छन् ।
चिनियाँ पर्यटक भित्रिँदा पर्यटनसँग जोडिने सबै क्षेत्रले एक साथ बिजनेस पाउने टानका महासचिव सापकोटा बताउँछन् ।
हवाई यात्रामा निर्भर
नेपालमा कोभिडयता चीनले हवाई उडानलाई सीमित गरेर राखेको छ । उडानमाथिको प्रतिबन्धहरु खुल्न बाँकी छ । केही समय अगाडि चाइना साउर्दनले नेपाल उडान सुरु गरेको छ । चीनको पछिल्लो घोषणाले अब विस्तारै यो अवस्था हट्ने निश्चित भएको छ ।
१ जनवरी २०२३ बाट व्यवसायीक सञ्चालनमा आउने पोखरा विमानस्थलमा समेत चिनियाँ वायुसेवा कम्पनी आकर्षित हुने अपेक्षा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुको छ ।
चीनका पर्यटक भएर स्थलमार्गबाट थोरै मात्रामा मात्रै आउँछन् । यसले भविष्यमा बढी पर्यटक भित्र्याउन भूमिका खेल्नेछ । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ लगानीमै बनेको विमानस्थल हो, प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘यहाँ भविष्यमा चिनियाँबाटै धेरै उडान हुने अपेक्षा गर्न सकिन्छ ।’
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत चीनबाट सिधा उडान गर्ने गरी सरकारले लुम्बिनीको प्रवर्द्धन गर्नुपर्ने व्यवसायीहरु बताउँछन् । बौद्ध धर्माबलम्बी बाहुल्य देशबाट धार्मिक पर्यटक भित्र्याउने योजनासहित बनेको लुम्बिनी विमानस्थलको प्रवर्द्धन हुन नसक्दा अहिलेसम्म सो विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा छ । अब चीनबाट धार्मिक पर्यटक लक्षित गरेर भैरहवामा उडान हुने वातावरण बनाउन व्यवसायीहरुको माग छ ।
सन् २०२२मा कति भित्रिए चिनियाँ पर्यटक ?
नोभेम्बर : १०३८
अक्टोवर : ९४६
सेप्टेम्बर : १३३२
अगष्ट : १२८९
जुलाई : १५९३
जुन : ४५१
मे : ३८८
अप्रिल : २८१
मार्च : ४३१
फेब्रुअरी : २०५
जनवरी : ३२१
प्रतिक्रिया 4